Logo

प्रमुख समाचार

बागमती प्रदेशमा एमालेका ६ मन्त्रीले दिए राजीनामा



हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।

साथै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।

बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार ११:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।