Logo

अर्थ

भारतीय २०० र ५०० दरका नोट ल्याउन–लैजान सहज, राष्ट्र बैंकले स्पष्ट गर्‍यो सटही प्रक्रिया



काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० दरका नोट नेपाल भित्र्याउने, बाहिर लैजाने तथा सटही गर्ने प्रक्रियालाई स्पष्ट गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

सरकारले गत चैत २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाली तथा भारतीय नागरिकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा भारतीय २०० र ५०० दरका नोट अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म साथमा ल्याउन वा लैजान पाउने व्यवस्था गरेको थियो।

सोही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागमार्फत विस्तृत प्रक्रिया सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार नेपाल आएका नेपाली वा भारतीय नागरिकले साथमा ल्याएका २०० र ५०० दरका भारतीय नोट नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, मनीचेन्जर वा अन्य अधिकृत संस्थामार्फत सटही गर्न सक्नेछन्।

सार्वजनिक गरिएको प्रक्रियाअनुसार मनीचेन्जरले संकलन गरेका नोट बैंक तथा वित्तीय संस्थामा बुझाउनेछन् भने ती संस्थाले नेपाल राष्ट्र बैंकमार्फत अन्तिम सटही गर्ने व्यवस्था गरिएको छ। यसले भारतीय मुद्राको सटहीलाई औपचारिक प्रणालीभित्र ल्याउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यसअघि जारी गरेको सूचनालाई थप स्पष्ट पार्दै नेपाली वा भारतीय नागरिकले भारतसँगको आवतजावतका क्रममा मात्र प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँ बराबरका २०० र ५०० दरका नोट ल्याउन वा लैजान सक्ने जनाएको छ। भारतबाहेक अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन वा लैजान भने अनुमति नहुने व्यवस्था यथावत् रहेको छ।

राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले भारतीय मुद्राको वैध तथा औपचारिक सटही प्रणालीलाई थप व्यवस्थित बनाउने, नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहजता प्रदान गर्ने, अनौपचारिक सटही कारोबारलाई निरुत्साहित गर्ने तथा पर्यटन, व्यापार र सीमापार आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यसअघि भारतीय २०० र ५०० दरका नोटको प्रयोग र सटहीबारे अन्योल रहँदा सर्वसाधारण तथा पर्यटकले समस्या भोग्दै आएका थिए। नयाँ स्पष्ट व्यवस्थासँगै अधिकृत संस्थामार्फत कानुनी रूपमा सटही गर्न सकिने भएकाले सीमापार कारोबार थप सहज हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार २२:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।