Logo

अर्थ

साउन १४ देखि लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन



काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो। कुल निष्कासनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ।

सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले साउन १४ गतेदेखि आवेदन दिन सक्नेछन्। छिटोमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परे निष्कासन अवधि साउन २८ गतेसम्म लम्बिन सक्नेछ। आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण निष्कासित कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई असार ९ गते उक्त ऋणपत्र निष्कासनका लागि अनुमति दिएको थियो। १० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटलले पाएको छ।

 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार १२:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।