काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको दाबी छ ।
निर्देशक डा.कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए ।
उनले व्यापार भन्दा पनि फिल्मले पाएको दर्शकको माया र दिएको सन्देश विशेष रहेको बताए । ‘हामीले फिल्ममार्फत फरक क्षमता भएका व्यक्तिसँग समाज र परिवारले गर्नुपर्ने व्यवहार र छोरीलाई पढाउनु पर्छ भन्ने दिएको सन्देश दर्शकसम्म पुगेको छ, यो महत्वपूर्ण हो । फिल्मको व्यापार पनि राम्रो छ, तर हामी कलात्मक पक्षमा बढी केन्द्रीत छौं,’ निर्देशक रिजालले भने ।
चलचित्र निर्माणमा लाग्नुको कारणबारे डा.रिजालले पुस्तौंदेखि बग्दै आएको कला, साहित्य र संस्कृतिप्रतिको मोहको निरन्तरता भएको प्रस्टाए ।
निर्देशक डा. रिजालका अनुसार कला र साहित्यप्रतिको आकर्षण उनीभित्र एकाएक पैदा भएको होइन । हजुरबुवा साहित्यकार, पिता वरिष्ठ चिकित्सक डा. भोला रिजाल साहित्य, संगीत र चलचित्रमा सक्रिय रहनु, घरमै सिर्जनात्मक वातावरण हुनु यिनै कुराले बाल्यकालदेखि उनलाई अभिनय र कथाप्रति आकर्षित गरायो ।
विद्यालय, कलेज हुँदै चिकित्सा अध्ययनका क्रममा पनि उनले छोटा चलचित्र, म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिए । पेशाले दन्त चिकित्सक भए पनि सिर्जनाको हुटहुटी कहिल्यै रोकिएन ।
डा. रिजालका चलचित्रमा स्वास्थ्य, शिक्षा र सामाजिक विषय किन बारम्बार आउँछन् भन्ने प्रश्नको उत्तर पनि उनको जीवन अनुभवमै भेटिन्छ ।
उनका अनुसार आफू त्यही परिवेशमा हुर्किएकाले कथा पनि त्यहीँबाट जन्मिन्छन् । ‘यदि म बैंकरको छोरो भएको भए बैंकिङका कथा भन्न सक्थेँ होला । हामी स्वास्थ्य र शिक्षाको वातावरणमा हुर्कियौँ । त्यसैले ती विषय हाम्रो सिर्जनाको केन्द्रमा आउँछन्,’उनी भन्छन् ।
उनका लागि स्वास्थ्य र शिक्षा हरेक नेपालीको आधारभूत अधिकार हुन् । त्यही विश्वासले उनका कथाहरूलाई सामाजिक संवेदनासँग जोड्ने गर्छ ।
यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरिसकेका रिजालले यसपटक फरक बाटो रोजेका हुन् । करिब २५ वर्षअघि उनका पिता डा. भोला रिजालले बनाएको ‘गौँथली’बाट प्रेरित हुँदै नयाँ पुस्ताका लागि आधुनिक प्रविधिसहित पुनः व्याख्या गरिएको संस्करण तयार गरिएको हो ।
उनका अनुसार चलचित्रको उद्देश्य नेपाली भाषा, संस्कृति, भेषभूषा, संगीत र गाउँको जीवनलाई आधुनिक सिनेमाटिक प्रस्तुतीमार्फत समयभन्दा पर टिक्ने कृतिका रूपमा स्थापित गर्नु हो । प्रदर्शनको सुरुवातमा करिब २०० शो पाएको फिल्मले हाल २५० भन्दा बढी शो पाइसकेको निर्माण पक्षको दाबी छ । अधिकांश हलमा दर्शकको चाप बढ्दै जाँदा व्यापारिक प्रदर्शन पनि उत्साहजनक रहेको जनाइएको छ ।
निर्देशक, कलाकार र निर्माण टिम काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेका छन् ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।डा.भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा.कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।





















प्रतिक्रिया