काठमाडौँ । भारतीय सर्वोच्च अदालतले परीक्षा प्रश्नपत्र चुहावटको विरोधमा जन्तर मन्तर तथा देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेका विद्यार्थीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोपसम्बन्धी निवेदनमाथि जुलाई २७ मा सुनुवाइ गर्ने सहमति जनाएको छ।
उक्त विषयलाई प्रधान न्यायाधीश सूर्यकान्त तथा न्यायाधीशहरू जॉयमल्या बागची र भी. मोहन सम्मिलित इजलाससमक्ष वरिष्ठ अधिवक्ता गोपाल शङ्करनारायणनले प्रदर्शनकारीमाथि भएको भनिएको हिंसासम्बन्धी दुईवटा निवेदन दर्ता भएको जानकारी दिए।
शङ्करनारायणनले ती निवेदनहरू विद्यार्थी प्रदर्शनका क्रममा भएको भनिएको प्रहरी हिंसासँग सम्बन्धित रहेको र त्यसमा विभिन्न राज्यहरूलाई पक्षकार बनाइएको बताए।
उनले ती निवेदनहरू यसअघि उल्लेख नगरिनुको कारण तिनले दर्ता नम्बर प्राप्त गर्ने प्रक्रियामा रहेको बताए।
उनले मुद्दाको तत्काल सुनुवाइ आवश्यक रहेकोमा जोड दिँदै, विद्यार्थीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरिरहेको समाचारहरू निरन्तर आइरहेको र त्यसलाई रोक्न अदालतको तत्काल हस्तक्षेप आवश्यक रहेको बताए।
उनको भनाइलाई ध्यानमा राख्दै प्रधान न्यायाधीशले निवेदनहरू सुनुवाइका लागि स्वीकार गर्ने सहमति जनाउँदै सोमबारका लागि सूचीमा राख्न निर्देशन दिएका छन् ।
प्रधान न्यायाधीशले भने, ‘यसलाई सूचीमा राख्नुहोस्, हामी सुनुवाइ गर्नेछौँ।’
जुलाई २० मा संसदतर्फ गरिएको आन्दोलन र ककरोच जनता पार्टीले जन्तर मन्तरमा हप्तौँसम्म गरेको प्रदर्शन र आमरण अनशन गरेको थियो ।
उक्त प्रदर्शनमा हजारौँ विद्यार्थी सहभागी भएका थिए। उनीहरूले परीक्षा प्रश्नपत्र चुहावटको आरोपका कारण केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै संसदतर्फ प्रदर्शन गर्ने प्रयास गरेका थिए।
प्रदर्शनकारीहरूले संसदतर्फ अघि बढ्ने क्रममा केन्द्रीय दिल्लीमा राखिएका प्रहरीका विभिन्न अवरोध (ब्यारिकेड) तोड्ने प्रयास गरेपछि सुरक्षा निकायले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका धेरै भिडियोहरूमा प्रदर्शनकारीहरूलाई प्रहरीले दुव्र्यवहार गरेको देखिएको दाबी गरिएको थियो।
तर, दिल्ली प्रहरीले आफ्नो कारबाहीको बचाउ गर्दै भीडका केही समूह हिंसात्मक बनेर ढुंगामुढा गर्न थालेपछि मात्र बल प्रयोग गरिएको जनाएको छ।
त्यस्तै, दिल्लीको जन्तर–मन्तरमा जुलाई २० मा भएको विद्यार्थी प्रदर्शनका क्रममा प्रहरीले पेलेट गन प्रयोग गरेको जनाइएको छ ।
अस्पतालको चिकित्सकीय प्रतिवेदनले एक प्रदर्शनकारीको शरीरमा पेलेटका चोट देखिएको उल्लेख गरेपछि आरोप पुष्टि भएको बताइएको छ ।





















प्रतिक्रिया