काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएका मुद्दामध्ये ६१ प्रतिशतभन्दा बढीको डिजिटल अभिलेख तयार गरेको जनाएको छ। गत असार मसान्तसम्म दर्ता भएका ११ हजार ७८ मुद्दामध्ये ६ हजार ८६१ फाइल स्क्यान गरिएको प्रहरीले शुक्रबार जानकारी दिएको हो।
परिसरका अनुसार आपराधिक गतिविधिमा संलग्न १ हजार ८७१ जनाको प्रोफाइल तयार गरिएको छ भने पुसदेखि असारसम्म २ हजार २७६ मुद्दाको म्याद अनलाइनमार्फत थप गरिएको थियो। गत आर्थिक वर्षमा ११ हजार ७८ मुद्दा दर्ता हुँदा ८ हजार ५८१ अभियुक्त पक्राउ परेका थिए।
प्रहरीका अनुसार गत आवमा बैंकिङ कसुर, अभद्र व्यवहार, चोरी, लागुऔषध र ठगीका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्। लागुऔषधसम्बन्धी मुद्दा पछिल्ला तीन वर्षयता निरन्तर बढ्दै गएको देखिएको छ। गत आवमा ६७० मुद्दा दर्ता हुँदा अघिल्ला दुई वर्षमा क्रमशः ४३१ र ३३३ मुद्दा दर्ता भएका थिए।
फैसला कार्यान्वयनका क्रममा २ हजार ४०७ फरार पक्राउ परेका प्रहरीले जनाएको छ। यसबाट २२ करोड ६४ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल हुनुका साथै ५१९ वर्षभन्दा बढी कैद कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ। साथै, क्यासिनो ठगी, नक्कली मुद्रा, हुण्डी र अभौतिक मुद्रा कारोबारमा संलग्नविरुद्ध पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया