Logo

धर्म / संस्कृति

हरिशयनी एकादशी आज, तुलसी पूजा र चतुर्मास व्रत सुरु



काठमाडौं। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि सनातन हिन्दू धर्मावलम्बीले चतुर्मास व्रत तथा तुलसीको विशेष पूजा–आराधना सुरु गरेका छन्। घर–घरमा तुलसीको बिरुवा सार्ने, पूजा गर्ने र भगवान् विष्णुको आराधना गर्ने परम्परा आजदेखि प्रारम्भ हुन्छ।

वैदिक परम्पराअनुसार ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आज तुलसीको मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म चार महिनासम्म तुलसीको नियमित पूजा गर्ने चलन छ।

धर्मशास्त्रविद्हरूका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्ने धार्मिक विश्वास छ। यही कारण यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ। विष्णुको शयनकाल मानिने यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ।

हिन्दू पात्रोअनुसार वर्षभर २४ वटा एकादशी पर्छन्। श्रद्धालुमध्ये धेरैले प्रत्येक एकादशीमा व्रत बस्ने गर्छन् भने कतिपयले चतुर्मास अवधिभित्र पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको धर्मशास्त्रमा उल्लेख छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। श्रद्धालुले भगवान् विष्णुको दर्शन, पूजा र आराधना गर्दै फलाहार ग्रहण गर्ने परम्परा निर्वाह गरिरहेका छन्। यस दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई फलफूल, रोटी, ढिँडोलगायत सात्त्विक भोजन गर्ने चलन छ।

धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिका रूपमा पनि हेरिन्छ। आयुर्वेदमा तुलसीलाई विभिन्न रोगको उपचारमा उपयोगी मानिएको छ। घरआँगनमा तुलसी रोप्दा वातावरण स्वच्छ रहने र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वाससमेत रहिआएको छ।

चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदर (विष्णु) सँग वैदिक विधिअनुसार विवाह गराउने परम्परा छ। सोही दिन चतुर्मास व्रत समापन गर्दै हवन तथा अन्य धार्मिक अनुष्ठानसमेत गरिन्छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार ०९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।