दाङ— दाङको देउखुरीस्थित एक होटललाई यात्रुलाई बासी तथा अस्वस्थकर खाना खुवाएको आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयामा रहेको पूर्वपश्चिम हाइवे होटललाई खाद्य ऐनविपरीतका गतिविधि गरेको पाइएपछि जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रमुखले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमन टोलीले शुक्रबार होटलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा फ्रिजमा बासी तथा अस्वस्थकर खाना भण्डारण गरिएको, पकाइने परिकारमा कृत्रिम रङ प्रयोग गरिएको, भान्साको संरचना मापदण्डअनुसार नभएको, मूल्यसूची नराखिएको, नालीमा फोहर पानी जमेको तथा भान्सामा दुर्गन्ध रहेको भेटिएपछि होटललाई जरिवाना गरिएको जानकारी दिए।
उक्त होटललाई यसअघि पनि पटक–पटक सुधार गर्न निर्देशन दिइएको थियो। तर निर्देशनको पालना नभएपछि पुनः अनुगमन गर्दा पनि अवस्था उस्तै भेटिएकाले कारबाही गरिएको उनले बताए।
होटललाई तोकिएको जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको छ।
अनुगमन टोलीले शुक्रबार देउखुरी क्षेत्रका अन्य सात होटलको समेत अनुगमन गरेको जनाएको छ।




















प्रतिक्रिया