Logo

समाचार

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ४ पदका लागि कर्मचारी



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुलेको छ । बैंकले प्रमुख वित्तीय अधिकृत (सीएफओ), शाखा प्रबन्धक र रिलेसनसिप म्यानेजरसहित विभिन्न पदमा जागिर खुलाएको हो ।

बैंकले केन्द्रीय कार्यालय तथा विभिन्न शाखाका लागि योग्य, दक्ष र अनुभवी उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।

बैंकले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रमुख वित्तीय अधिकृत (सीएफओ) पदमा एक जना कर्मचारी माग गरिएको छ । उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्ट (सीए) वा एसीसीए उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।

उम्मेदवारसँग नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस), वित्तीय प्रतिवेदन, लेखा, कर तथा तथ्यांक विश्लेषणसम्बन्धी राम्रो ज्ञान हुनुपर्ने बैंकले जनाएको छ । यो पदका लागि वरिष्ठ व्यवस्थापक तहसम्म आवेदन दिन सकिनेछ र कार्यस्थल बैंकको केन्द्रीय कार्यालय रहनेछ ।

त्यस्तै, झापा जिल्लाभित्रका शाखाका लागि शाखा प्रबन्धक पदमा जुनियर अधिकृत/अधिकृत तहमा एक जना कर्मचारी माग गरिएको छ । यस पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव आवश्यक पर्नेछ । विकास बैंक वा वाणिज्य बैंकमा कम्तीमा दुई वर्ष शाखा प्रबन्धकका रूपमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

त्यस्तै कर्णाली प्रदेशअन्तर्गतका शाखाका लागि पनि शाखा प्रबन्धक पदमा केही कर्मचारी माग गरिएको छ । उक्त पदका लागि सुपरभाइजर तहमा आवेदन दिन सकिनेछ । उम्मेदवारले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यसैगरी, रुपन्देहीको भैरहवाका लागि रिलेसनसिप म्यानेजर पदमा एक जना कर्मचारी माग गरिएको छ । सहायक/वरिष्ठ सहायक तहका लागि खुलाइएको उक्त पदमा आवेदन दिन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र विकास बैंक वा वाणिज्य बैंकमा सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।

बैंकले व्यवस्थापक तहका लागि ४५ वर्षभन्दा कम, अधिकृत तहका लागि ४० वर्षभन्दा कम र सुपरभाइजर तहका लागि ३५ वर्षभन्दा कम उमेर हुनुपर्ने व्यवस्था गरेको छ । अधिकृत तहका पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ ।

जागिर खान इच्छुक तथा योग्य उम्मेदवारले बैंकको आधिकारिक वेबसाइटको ‘करियर’ सेक्सनमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०८३ साल साउन २३ गते साँझ ५ बजेसम्म तोकिएको छ ।

बैंकले प्राप्त आवेदनमध्ये कुनै पनि आवेदन कारण नखुलाई अस्वीकृत गर्न सक्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आईतवार ११:०४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।