काठमाडौं । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ ।
आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरुले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।
जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका आयामलाई तथ्य र विश्लेषणसहित प्रस्तुत गरेको लेखकले बताएका छन् ।
पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भएपनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको उल्लेख गरे ।
जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिचाई, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आग्रह गरे ।
लेखक महाजन यादवले पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए ।
लेखकका अनुसार यो पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण प्रस्तुत गर्दै जलवायु परिवर्तनको युगमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरूलाई समेत समेटेको छ । जलस्रोत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, अध्ययन तथा अनुसन्धानमा उपयोगी सन्दर्भ सामग्रीका रूपमा पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया