Logo

प्रमुख समाचार

सुनसरी घटना: सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल



काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसपछि प्रहरीले गोली चलाएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन सुरु गरिसकेको छ। आयोगले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरी, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।

‘पोलमा झण्डा राख्ने विषयमा दुई समुदाय बिच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

घाइतेहरुमध्ये ४ जनाको न्युरो अस्पताल, ४ जनाको विराट नर्सिङ होम र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगलाई जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

घटनापछि विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा टायर बालिएको, आन्दोलनकारीहरूले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरेको तथा कप्तानगञ्जलगायतका क्षेत्रमा अवस्था तनावग्रस्त रहेको आयोगले जनाएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन सुनसरीको कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको जानकारी पनि आयोगले दिएको छ।

आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार १६:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।