काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक वर्ष मनाइने यो दिवस सच्चा मित्रहरूको सम्मान गर्दै मित्रताको महत्त्व सम्झने अवसरका रूपमा लिइन्छ ।
यस दिन साथीहरूबीच प्रेम, विश्वास, सहयोग र सम्मानको भावना अझ बलियो बनाइन्छ । साँचो मित्र भनेको सुख–दुःख, सफलता–असफलता सबै अवस्थामा साथ दिने व्यक्ति हो ।
मित्रताले मानिसको जीवनलाई खुसी र अर्थपूर्ण बनाउँछ । असल मित्रले सही बाटो देखाउँछ, कठिन समयमा हौसला दिन्छ र खुसीका क्षणलाई अझ रमाइलो बनाइदिन्छ । त्यसैले मित्रताको सम्बन्धलाई इमानदारी, विश्वास र सम्मानका साथ जीवनभर कायम राख्नु आवश्यक मानिन्छ ।
अन्तर्राष्ट्रिय मित्रता दिवसले मित्रताको सामाजिक, सांस्कृतिक र मानवीय महत्त्वलाई उजागर गर्ने अवसर पनि प्रदान गर्छ । मित्रता केवल व्यक्तिगत सम्बन्ध मात्र होइन, समाजमा सद्भाव, सहिष्णुता र एकताको भावना बलियो बनाउने आधार पनि हो । जात, धर्म, भाषा, संस्कृति वा भौगोलिक सीमाभन्दा माथि उठेर एकअर्काप्रति सम्मान र विश्वास कायम गर्नु नै साँचो मित्रताको पहिचान मानिन्छ ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा अन्तरजातीय तथा अन्तरसमुदायबीचको मित्रताले सामाजिक सद्भाव र आपसी विश्वासलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फरक पृष्ठभूमिका मानिसहरूबीचको आत्मीय सम्बन्धले विविधताबीच पनि एकता सम्भव छ भन्ने सन्देश दिन्छ ।
यही सन्दर्भमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चार दशकभन्दा लामो अन्तरजातीय मित्रता केवल दुई कलाकारको व्यक्तिगत सम्बन्धमा सीमित छैन । विश्वास, सम्मान, समझदारी र निरन्तर सहकार्यले सम्बन्धलाई कसरी दीर्घकालीन बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा उनीहरूको मित्रतालाई हेर्ने गरिन्छ ।
यसै मित्रता दिवसको सन्दर्भमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कलाकार हरिवंश आचार्यसँगको ४६ वर्ष लामो मित्रताको मुख्य आधार विश्वास, समझदारी र आपसी सम्मान रहेको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफूहरू एउटै सिद्धान्त र सोचका साथ अघि बढेकाले लामो समयसम्म सहकार्य सम्भव भएको बताए ।
‘हामी एउटै सिद्धान्त र एउटै दृष्टिकोणबाट अघि बढेका छौँ । त्यसैले हाम्रो सहकार्यले ४६ वर्ष पार गरिसकेको छ । अहिले पनि सँगै काम गरिरहेका छौँ,’ उनले भने ।
मदनकृष्णका अनुसार उनी र हरिवंशबीचको सम्बन्ध केवल सहकर्मीको मात्र नभई अन्तरजातीय मित्रताको पनि उत्कृष्ट उदाहरण हो । फरक–फरक जातीय समुदायबाट आए पनि आपसी विश्वास, सम्मान र समझदारीले उनीहरूको सम्बन्धलाई अझ बलियो बनाएको उनको भनाइ छ ।
‘हामी फरक–फरक जातीय समुदायबाट आएका हौँ । त्यसैले हाम्रो सम्बन्ध अन्तरजातीय मित्रताको पनि उदाहरण हो । म हरिवंशलाई बुझ्छु, उसले पनि मलाई बुझ्छ । आवश्यक पर्दा एकअर्काको दृष्टिकोणबाट सोच्ने प्रयास गर्छौँ । यही विश्वास र समझदारीले मित्रता ४६ वर्षसम्म टिकेको हो,’उनले भने ।
उनका अनुसार व्यस्तताका बीच पनि दुई–तीन दिनसम्म सम्पर्क नभए एकअर्कालाई फोन गरेर हालखबर सोध्ने गर्छन् । आवश्यक पर्दा सुझाव दिने, गल्ती सच्याउन सम्झाउने र एकअर्काको दृष्टिकोणलाई सम्मान गर्ने बानीले पनि सम्बन्धलाई अझ बलियो बनाएको उनले बताए ।
‘कुनै विषयमा मत फरक परेपनि म उसको दृष्टिकोणबाट हेर्ने प्रयास गर्छु । यदि उसको कुरा उचित लाग्यो भने सहजै स्वीकार गर्छु । मिलेर काम गर्दा राम्रो परिणाम आउँछ,’ उनले भने ।
मदनकृष्णले लामो सहकार्यमा सबैभन्दा ठूलो चुनौती सफलता र आर्थिक पक्ष हुन सक्ने अनुभव पनि सुनाए । उनका अनुसार धेरै साझेदारी सम्बन्ध आम्दानी बढेपछि ‘मैले बढी काम गरेँ’, ‘मलाई कम मूल्याङ्कन गरियो’ भन्ने भावना आउँदा बिग्रिन थाल्छन् ।
‘त्यसपछि अहंकार बढ्छ, परिवारसम्म कुरा पुग्छ र मनमुटाव सुरु हुन्छ । हाम्रो सम्बन्धमा भने त्यस्तो अवस्था कहिल्यै आएन । सफलता पनि सँगै आयो र त्यसलाई पनि सँगै बाँड्यौँ,’ उनले भने ।
उनले आफूहरूलाई दर्शकले दिएको माया नै जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । नेपालदेखि विदेशसम्म पुगेका हरेक ठाउँमा दर्शकले आफ्नै परिवारका सदस्यझैँ आत्मीय व्यवहार गर्ने गरेको अनुभव उनले सुनाए ।
‘बालबालिकाले ‘अंकल’, ‘बा’ वा ‘बाजे’ भनेर बोलाउँछन् । आफ्नै उमेरका मानिसले ‘दाई’ भन्छन् । ज्येष्ठ नागरिकले आफ्नै छोरा–छोरीसरह माया गर्नुहुन्छ । योभन्दा ठूलो भाग्य कलाकारका लागि अरू केही हुन सक्दैन,’ उनले भने ।
अन्तर्राष्ट्रिय मित्रता दिवसका अवसरमा मदनकृष्ण श्रेष्ठले सुनाएको आफ्नो ४६ वर्ष लामो मित्रताको अनुभवले साँचो मित्रता विश्वास, सम्मान, समझदारी र निरन्तर संवादमा टिक्ने सन्देश दिएको छ । फरक पृष्ठभूमिका दुई कलाकारबीचको यो सम्बन्ध नेपाली समाजमा मित्रताको प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ ।




















प्रतिक्रिया