Logo

समाचार

धार्मिक सहिष्णुता र शान्ति कायम राख्न पत्रकार महासंघको आग्रह



काठमाडौं । नेपाल पत्रकार महासङ्घले पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम तथा त्यसपछिका विभिन्न स्थानमा विकसित घटनाले सिर्जना गरेको परिस्थितिप्रति नेपाल गम्भीर चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले विज्ञप्ति जारी गर्दै यस्तो संवेदनशील अवस्थामा नागरिकको जीवन, सम्पत्ति र मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको स्मरण समेत गराएको छ ।

साथै संवेदनशील अवस्थामा सामाजिक सद्‌भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकले उच्च जिम्मेवारी र संयमता प्रदर्शन गर्न आग्रह गरेको छ ।

‘महासङ्घ सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा अफवाह, घृणा, विभाजन र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, उत्तेजनात्मक प्रचार प्रसार र सामाजिक सञ्जालमार्फत प्रसारित भ्रामक तथा अपुष्ट सामग्रीको प्रसारबाट पूर्ण रूपमा टाढा रहन हार्दिक आग्रह गर्दछ’, महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जारी गरेको विज्ञप्तिमा कुनै पनि असहमति वा विवादको समाधान हिंसा, तोडफोड, प्रतिशोध वा द्वेषबाट होइन, संविधान, कानुनी प्रक्रिया, संवाद र लोकतान्त्रिक विधिमार्फत मात्र सम्भव हुन्छ भन्नेमा महासङ्घ दृढ विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार १२:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।