Logo

बैंकिङ

बिमा प्राधिकरणमा एक वर्षमा ६०० उजुरी परे, ४७५ उजुरी टुंगो लागे



काठमाडौं। नेपाल बिमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा बिमासम्बन्धी परेका कुल उजुरीमध्ये करिब ४७ प्रतिशत फर्स्योट गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार समीक्षा अवधिमा कुल ६०० वटा उजुरी दर्ता भएका थिए। तीमध्ये ३९४ वटा अघिल्लो आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेका उजुरी हुन् भने २०६ वटा गत आर्थिक वर्षमै नयाँ दर्ता भएका हुन्।

समीक्षा वर्षमा प्राधिकरणको केन्द्रीय कार्यालयमा १४९ वटा र प्रदेश कार्यालयहरूमा ५७ वटा नयाँ उजुरी परेका थिए।

कुल उजुरीमध्ये २८१ वटा फर्स्योट भएको प्राधिकरणले जनाएको छ। यो कुल उजुरीको ४६.८३ प्रतिशत हो। फर्स्योट भएका उजुरीमध्ये २०४ वटा निर्णयमार्फत टुंगिएका छन् भने ७७ वटा पक्षहरूबीचको सहमतिबाट समाधान भएका छन्। हालसम्म ३१९ वटा उजुरीको टुंगो लाग्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए। त्यतिबेला १३१ वटा उजुरी मात्रै फर्स्योट भएको थियो, जुन कुल उजुरीको करिब २५ प्रतिशत हो। पछिल्लो तथ्यांकले अघिल्लो वर्षको तुलनामा उजुरी फर्स्योटको दर उल्लेख्य रूपमा बढेको देखाएको छ।

 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार ०७:४६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।