Logo

समाचार

धनुषामा ‘साहु महाजन’ले निकाले जुलुस, १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी



जनकपुरधाम ।पैसा ब्याजमा लगाउने साहु–महाजनहरूले सरकार र ‘मिटरब्याज’ पीडितबीच भएको नौबुँदे सम्झौता खारेज गर्न माग गर्दै शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।

मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका करिब ७ सय साहु–महाजनले जनकपुरधामका विभिन्न चोक हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत, धनुषाको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले ‘नौबुँदे सम्झौता खारेज गर’, ‘गृहमन्त्री मुर्दावाद’ र ‘खाएको ऋण तिर्नैपर्छ’ लगायतका नारा लगाएका थिए। जिल्ला प्रशासन कार्यालयअगाडि उनीहरूले सरकार र ‘मिटरब्याज’ पीडितबीच भएको नौबुँदे सम्झौताको प्रतिसमेत जलाएका थिए।

पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति, मधेश प्रदेशका अध्यक्ष विजय यादवले आफूहरूको आन्दोलन थप सशक्त बनाउने चेतावनी दिए। उनका अनुसार मधेशका आठवटै जिल्लाका साहु–महाजन आगामी १ गते काठमाडौं जाने तयारीमा छन्।

काठमाडौं पुगेपछि सिंहदरबार र माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना दिने कार्यक्रम रहेको यादवले बताए।

सरकारले केही दिनअघि ‘मिटरब्याज’ पीडितसँग गरेको नौबुँदे सम्झौता आफूहरूको सहभागिताबिनै भएको भन्दै उनले असन्तुष्टि जनाए। उक्त सम्झौता दुई पक्षीय मात्र भएकाले साहु–महाजनलाई समेत सहभागी गराएर तीन पक्षबीच छुट्टै सम्झौता गर्नुपर्ने उनीहरूको माग रहेको यादवले बताए।

केही ऋणीका कारण सबै लगानीकर्तालाई ‘मिटरब्याजी’को संज्ञा दिनु उचित नभएको उनको भनाइ छ। आवश्यक परेको समयमा ऋण उपलब्ध गराएका लगानीकर्ताले आफ्नो रकम फिर्ता पाउने वातावरण सरकारले बनाउनुपर्ने उनले माग गरे।

प्रदर्शनकारीले आफूहरूले दिएको ऋण असुलीका लागि कानुनी र सहज व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार १८:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।