काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ६१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीका अनुसार समीक्षा अवधिमा कर्जा लगानी ५२.२५ प्रतिशतले बढेर १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। सवारीसाधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) व्यवसायको विस्तारले कर्जा वृद्धिमा मुख्य योगदान दिएको कम्पनीले जनाएको छ।
यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ। कम्पनीले यसलाई प्रभावकारी जोखिम व्यवस्थापन र कर्जा असुली प्रणालीको परिणाम भनेको छ।
कुल सम्पत्ति पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल स्वपुँजी १ अर्ब ४९ करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
सञ्चालनतर्फ शुद्ध ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख ८० हजार रुपैयाँबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको छ।
वार्षिकीकृत स्वपुँजी प्रतिफल (आरओई) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ भने आधारभूत प्रतिशेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ४ पैसाबाट बढेर ४८ रुपैयाँ ४ पैसा पुगेको छ।
कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर (स्प्रेड) १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।
निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त रहँदा र वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसम्बन्धी चुनौती कायम रहे पनि व्यवसाय विस्तार, सञ्चालन दक्षता, जोखिम व्यवस्थापन तथा प्रभावकारी कर्जा असुली रणनीतिका कारण कम्पनीले उल्लेखनीय वित्तीय नतिजा हासिल गरेको जनाएको छ।
आगामी दिनमा दिगो कर्जा विस्तार, सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्दै दीर्घकालीन रूपमा सरोकारवालाको हित र मूल्य अभिवृद्धिमा केन्द्रित रहने कम्पनीले जनाएको छ।





















प्रतिक्रिया