Logo

समाचार

नेपाल प्रहरीका गुनासा: १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग



काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन् ।

जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार १६ वर्षे पेन्सनको विषयमा पटक–पटक छलफल र आश्वासन पाए पनि हालसम्म कानुनी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

तल्लो तहका प्रहरी कर्मचारी २४ घण्टा ड्युटीमा खटिनुपर्ने तथा लामो समयसम्म कठिन र जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले १६ वर्ष सेवा पूरा गरेपछि सम्मानजनक रूपमा अवकाश लिन पाउने व्यवस्था आवश्यक रहेको उनीहरूको भनाई छ ।

हालको व्यवस्थाअनुसार पेन्सन सुविधासहित ऐच्छिक अवकाश लिन २० वर्ष सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था रहेको उनीहरूले उल्लेख गरेका छन् । २० वर्ष नपुग्दै सेवा छाड्दा पेन्सन सुविधा नपाइने भएकाले कतिपय कर्मचारी बीचमै राजीनामा दिनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।

त्यस्तै, तल्लो तहमा पदोन्नतिको अवसर सीमित हुँदा लामो समय एउटै पदमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै १६ वर्षे ऐच्छिक अवकाशको व्यवस्था लागू भए नयाँ जनशक्तिका लागि अवसर सिर्जना हुने उनीहरूको दाबी छ ।

उनीहरूले १६ वर्षे पेन्सनसम्बन्धी मागलाई तत्काल कानुनी रूपमा सम्बोधन गरी कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १२:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।