Logo

अटो

नाइमा एक्स्पोमा एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’



काठमाडौं । नेपालका लागि एमजी ब्रान्डको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्सपोको अवसर पारेर कम्पनीले एमजी यूनाइन सार्वजनिक गरेको हो ।

एमजी यूनाइन बजारमा आएसँगै नेपाली इलेक्ट्रिक पिकअप सेग्मेन्टमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ । प्रिमियम इलेक्ट्रिक सवारीको पोर्टफोलियो विस्तार गर्ने योजनाअन्तर्गत यूनाइन सार्वजनिक गरिएको प्यारामाउन्ट मोटर्सले जनाएको छ ।

यूनाइनमा १०२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीले डब्लुएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ४ सय ३० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

पिकअपमा ३ सय २५ किलोवाट क्षमताको डुअल मोटर दिइएको छ । यसको अधिकतम गति १ सय ८० किलोमिटर प्रतिघण्टा रहेको छ । डीसी फास्ट चार्जिङमार्फत ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म १० मिनेटमै चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

५ हजार ५ सय मिलिमिटर लामो यूनाइनको चौडाइ १ हजार ९ सय ९७ र उचाइ १ हजार ८ सय ६० मिलिमिटर छ । यसको ह्वीलबेस ३ हजार ३ सय मिलिमिटर तथा ग्राउन्ड क्लियरेन्स २ सय २० मिलिमिटर रहेको छ ।

२० इन्चको ह्वीलसहितको डबल क्याब पिकअपमा १ हजार १ सय किलोसम्मको पेलोड क्षमता छ । यसको कुल लोडिङ क्षमता ३ हजार ५ सय किलोसम्म रहेको कम्पनीले जनाएको छ ।

यूनाइनको इन्टेरियरमा प्रिमियम डिजाइनसँगै विभिन्न आधुनिक फिचर समावेश गरिएको छ । यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ दिइएको छ ।

चालकको सुविधाका लागि ८–वे इलेक्ट्रोनिक एडजस्टमेन्टसहित भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन भएको सिट राखिएको छ । सुरक्षातर्फ ३ सय ६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्टलगायत प्रविधि उपलब्ध छन् ।

पिकअपमा भी२एल (भेइकल–टु–लोड) प्रविधिसमेत दिइएको छ । यसमार्फत गाडीको ब्याट्रीबाटै बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ । यसले यूनाइनलाई व्यक्तिगत प्रयोगसँगै व्यावसायिक प्रयोजनका लागि समेत उपयोगी बनाउने कम्पनीको अपेक्षा छ ।

नाइमा मोबिलिटी एक्सपोको हल बीस्थित स्टल नम्बर एल–२ मा एमजी यूनाइन प्रदर्शनीमा राखिएको छ । एक्सपोमार्फत ग्राहकले पिकअपको डिजाइन, प्रविधि र विभिन्न फिचरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १८:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।