काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्कुल, कलेजका विद्यार्थीलाई पुँजीबजारसम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ।
नेप्सेले सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८३/८४ का निम्ति कार्यक्रममा सहभागिताका लागि इच्छुक शैक्षिक संस्थालाई दर्ता हुन आग्रह गरेको हो।
विद्यार्थीलाई पुँजी बजारको कार्यप्रणाली, सेयर कारोबार र लगानीका विविध पक्षबारे व्यावहारिक ज्ञान प्रदान गर्न नेप्सेले लामो समयदेखि अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा आफ्ना विद्यार्थीलाई सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ ९ सम्ममा आवेदन दिनुपर्नेछ।
इच्छुक संस्थाहरूले नेप्सेको ईमेल ठेगानामार्फत दर्ता गराउन सक्नेछन्। दर्ताका लागि क्याम्पस वा विद्यालयको नाम र ठेगाना, सहभागी हुने अनुमानित विद्यार्थी संख्या, भ्रमणका लागि प्रस्तावित मिति, सहभागी विद्यार्थीको कक्षा वा तह र सम्पर्क व्यक्तिको नाम तथा फोन नम्बरसहितको विवरण बुझाउनुपर्नेछ।
यस्ता कार्यक्रमले विद्यार्थीमा पुँजी बजारप्रतिको रुचि बढाउनुका साथै वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा नेप्सेको छ।















प्रतिक्रिया