भारत प्रशासित कश्मिरको पुलवामा जिल्लाको लिथपोरामा रहेको श्रीनगर–जम्मु राजमार्गमा चरमपन्थी विद्रोहीले गराएको भीषण बम विस्फोटमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का ३४ जवानको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् । सीआरपीएफको ५४ औं बटालियनका जवान चढेको बसलाई लक्षित गरि हमला गरेको अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
सीआरपीएफ (अपरेशन) का आईजी जुल्फिकर हसनले भने, ‘यो क्षेत्रमा करिब ७० वटा गाडी थिए र यिनीहरुमध्ये एउटा गाडी विस्फोटमा परेको हो । जम्मुबाट श्रीनगर गइरहेका बेला यो घटना भएको हो ।’
सो राजमार्गमा सवारी साधनको आवतजावत रोकेर पुरै इलाकामा आक्रमणकारीको खोजी जारी रहेको छ । प्रतिबन्धित चरमपन्थी संगठन जैश–ए–मोहम्मदले सो हमला आफूले गरेको दाबी गरेको छ ।
जैश–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक विज्ञप्ति जारी गर्दै आदिल अहमद नामले चिनिने वकास कमाण्डोले यो हमला गरेको दावी गरेका छन् ।यो जम्मू कश्मिरमा पछिल्लो दुई दशकमा विद्रोहीको एउटै आक्रमणमा परी यति ठूलो संख्यामा सुरक्षाकर्मी मारिएको पहिलो घटना भएको बताइएको छ ।
यो हमलाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, वित्तमन्त्री अरुण जेट्ली, विदेश राज्यमन्त्री भीके सिंह, काँग्रेस अध्यक्ष राहुल गान्धी, जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लालगायतका नेताले निन्दा गरेका छन् ।
यो आक्रमण भारतमा हुन लागेको लोकसभा निर्वाचनअघि ठूलो झट्काका रुपमा लिइएको छ । करिब ७० वर्षदेखि अशान्त रहँदै आएको कश्मिरमा यस प्रकारका घटना बारम्बार हुँदै आएका छन् ।गत वर्षमात्रै जम्मु कश्मिरमा २५० चरमपन्थी, ८४ सुरक्षाकर्मी र १५० जना आम जनताको हिंसाका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया