काठमाडौं ।कामना सेवा विकास बैंकको क्रेडिट रेटिङ बढेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको इश्युअर रेटिङ ‘केयर–एनपी बीबी प्लस’ बाट बढाएर ‘केयर–एनपी बीबीबी माइनस’ कायम गरेको हो।
रेटिङ वृद्धिले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमता र संस्थागत सबलतामा सुधार भएको संकेत गरेको छ।
केयर रेटिङ्सका अनुसार बैंकको पूँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन, नाफामा सुधार र व्यवसाय विस्तार रेटिङ बढ्नुका प्रमुख आधार हुन्। निक्षेप संरचनामा सुधार, पर्याप्त तरलता र बजार हिस्सामा भएको विस्तारलाई पनि सकारात्मक पक्षका रूपमा मूल्यांकन गरिएको छ।
पछिल्लो समय बैंकले पूँजीकोष सुदृढीकरणसँगै कर्जा व्यवस्थापनमा सुधार गरेको छ। बैंकिङ क्षेत्रमा कर्जाको गुणस्तर र वित्तीय दायित्व भुक्तानी क्षमता महत्वपूर्ण सूचक मानिने भएकाले यी क्षेत्रमा भएको सुधारले बैंकको जोखिम वहन क्षमतामा सकारात्मक प्रभाव पारेको रेटिङ एजेन्सीको मूल्यांकन छ।
‘बीबीबी माइनस’ रेटिङले बैंकलाई मध्यमस्तरको वित्तीय सुरक्षा प्रदान गर्न सक्ने र मध्यमस्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थाका रूपमा वर्गीकरण गर्छ। यद्यपि यसले उच्चस्तरको वित्तीय सुरक्षा वा जोखिमरहित अवस्थाको प्रत्याभूति गर्दैन।
रेटिङ वृद्धिले निक्षेपकर्ता, ऋणी, लगानीकर्ता र अन्य सरोकारवालामाझ बैंकको संस्थागत विश्वसनीयता बढाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ। यसबाट प्रतिस्पर्धी लागतमा स्रोत परिचालन, संस्थागत लगानी तथा व्यावसायिक साझेदारी विस्तारमा समेत सहजता आउन सक्ने बताइएको छ।
बैंकले आफूलाई ‘फ्युचर रेडी’ बैंकका रूपमा विकास गर्ने रणनीतिअन्तर्गत सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री र दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको विकास बैंकका रूपमा कामना सेवा विकास बैंकले सातै प्रदेशमा १२३ शाखा सञ्चालन गरिरहेको छ। बैंकका अनुसार ६६ एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
रेटिङ बढेसँगै बैंकका लागि आगामी दिनमा कर्जाको गुणस्तर कायम राख्ने, नाफा वृद्धि गर्ने, निक्षेपको लागत व्यवस्थापन गर्ने र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने चुनौती रहनेछ।



















प्रतिक्रिया