काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट सिक्काको डिजाइन, छपाइ, आपूर्ति र ढुवानी गर्ने गरी यो बोलपत्र माग गरेको हो ।
एक चरणको दुई खाम प्रणालीबाट हुने प्रक्रियामा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै बुझाउनुपर्नेछ । बोलपत्रसम्बन्धी कागजात ३ नोभेम्बर २०२६ सम्म खरिद गर्न सकिनेछ भने यसको शुल्क २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर र ११५ युरो तोकिएको छ ।
पूर्वबोलपत्र बैठक १६ अक्टोबर २०२६ मा दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ । बोलपत्र बुझाउने अन्तिम समय ४ नोभेम्बर दिउँसो १२ बजे र खोल्ने समय सोही दिन १ बजे तोकिएको छ ।
बोलपत्रदाताले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्नेछ, जुन बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ । बोलपत्रको समग्र म्याद ३ अप्रिल २०२७ सम्म रहने राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया