काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेसागत कोटाबाट रमेश कुमार बखतीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
ललितपुरका बखती लामो समय राष्ट्रसेवक कर्मचारीका रूपमा काम गरी अवकाश प्राप्त गरेका हुन् । उनले सीटीईभीटीको निर्देशक तथा कामु सदस्य–सचिवका रूपमा काम गरेका छन् । यस्तै, श्रम मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।
बखतीले आफूले प्रशासनिक क्षेत्रमा हासिल गरेको अनुभवलाई युवा पुस्तासँग जोड्दै कांग्रेसलाई गुट–उपगुटबाट मुक्त गरी एकताबद्ध र जनमुखी पार्टी बनाउन उम्मेदवारी दिएको बताए ।
उनले भने, ‘यो उम्मेदवारी भनेको अहिले धेरैजसो युवाहरूलाई हामीजस्तो अनुभवीले प्रशासनिक कार्यक्षेत्रमा कसरी अनुभव जोड्ने र कांग्रेसलाई गुट–उपगुटबाट हटाएर एकत्रित, एकताबद्ध र जनमुखी कांग्रेस बनाउने भन्ने उद्देश्यका लागि हो।’
बखतीले प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न विद्यमान नियम–कानुनमा आवश्यक संशोधन गर्नुपर्ने बताए । दलहरूले ऐन–कानुन निर्माण गर्ने भएकाले उनीहरूलाई प्रशासनिक प्रक्रिया र नियम–कानुनबारे पर्याप्त ज्ञान हुनुपर्ने उनको भनाइ छ ।
‘नियम–कानुन संशोधन कसरी गर्ने, प्रशासनिक व्यवस्थालाई कसरी व्यवस्थित र पारदर्शी बनाउने तथा सुशासन कायम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा ध्यान दिनुपर्छ,’ उनले भने ।
उनले सुशासनलाई पार्टीको विधानमै स्पष्ट रूपमा समेट्नुपर्ने बताए । नियम–कानुन संशोधनसँगै पार्टीको विधानलाई पनि सुशासनमुखी बनाउने आफ्नो लक्ष्य रहेको बखतीले बताए ।
‘नियम–कानुन बनाउनुभन्दा पहिला दलको विधान स्पष्ट हुनुपर्छ । विधानमा पनि सुशासनका कुरा उल्लेख हुनुपर्छ । सुशासनसम्बन्धी नियम–कानुन संशोधन गरेर राम्रो विधान तयार गर्ने मेरो लक्ष्य हो,’ उनले भने ।



















प्रतिक्रिया