सुनसरी । इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले इटहरी–१७ का शेलिस शेर्पाको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीले जुवा खेलिरहेको स्थानबाट एक बुङ तास र नगद २ लाख ३१ हजार १ सय ७० रुपैयाँ बरामद गरेको छ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही स्थानका ४७ वर्षीय गौरीशंकर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी–१७ का ४३ वर्षीय लोकबन्धु कार्की छन्।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



















प्रतिक्रिया