Logo

राेजगार

रोजगार संयोजककाे नतिजा : ७ सय ५३ जना माग गरिएकोमा ५ सय २१ जना मात्रै उत्तीर्ण



प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न माग गरिएको रोजगार संयोजकका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार प्रकाशित नतिजा अनुसार ५ सय २१ जना उत्तीर्ण भएका छन् ।

सार्वजनिक नतिजा अनुसार प्रदेश नम्बर ५ बाहेक कुनै पनि प्रदेशमा मागे जति सङ्ख्यामा परिक्षार्थी उत्तीर्ण भएनन् । प्रदेश १ मा १३० जना शाखा अधिकृत माग गरिएकोमा ६७ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ७ जनाको माग गरिएकोमा ५ जना मात्रै उत्तीर्ण भएका छन् ।

प्रदेश २ मा १३६ जना शाखा अधिकृत माग गरिएकोमा ९८ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश ३ मा ११२ जना शाखा अधिकृत माग गरिएकोमा ९५ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ७ जनाको माग गरिएकोमा ७ जनाले नै परीक्षा उत्तीर्ण गरेका छन् ।

गण्डकी प्रदेशमा ७४ जना शाखा अधिकृत माग गरिएकोमा ६१ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ११ जनाको माग गरिएकोमा ११ जना मात्रै उत्तीर्ण भएका छन् । प्रदेश ५ मा १०९ जना शाखा अधिकृत माग गरिएकोमा १०९ जना नै उत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशमा ६२ जना शाखा अधिकृत माग गरिएकोमा २० जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा १७ जनाको माग गरिएकोमा ९ जना मात्रै उत्तीर्ण भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ८२ जना शाखा अधिकृत माग गरिएकोमा ३३ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ६ जनाको माग गरिएकोमा ६ जना नै उत्तीर्ण भएका छन् । ७ प्रदेशबाट ७ सय ५३ जना माग गरिएको ५ सय २१ जना मात्रै उत्तीर्ण भएका छन् । नतिजा http://www.pmep.gov.np/site/shortlist गएर हेर्न सकिनेछ ।

७५३ स्थानीय तहका लागि खुलाइएको विज्ञापनमा आवदेन दिएकामध्ये छनोटमा परेकाहरुको परीक्षा कम्प्युटर मार्फत शनिबार र आइतबार ललितपुरको पुल्चोकमा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । रोजगार संयोजकका लागि ३० मिनेट समय तोकेर ५० अंकका लागि कम्प्युटर प्रणालीबाट २५ वटा प्रश्न सोधिएको थियो । अनलानबाटै करिब २४ हजारले आवेदन दिएकोमा २ हजार २ सय ६२ जना परीक्षामा सामेल भएका थिए ।

७ सय ५३ जनाका लागि २३ हजार ९ सय ६८ जनाको आवेदन परेकोमा पहिलो चरणबाट २२ सय ५९ जना छानिएका थिए । आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिएको थियाे।

रोजगार संयोजकको भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै सरकारले नेपालमै पहिलो पटक अनलाइनबाटै परीक्षा लिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो । अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तहमा खटाइने छ ।

रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

यस्तै रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् ।बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  १ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।