Logo

अर्थ

एनएमबि बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट साधारण सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले बोनस सेयर वितरण नगर्ने निर्णय गर्दै साधारण र अग्राधिकार सेयरका लागि छुट्टाछुट्टै दरमा नगद प्रतिफल प्रस्ताव गरेको हो।

असोज २१ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४१७औं बैठकले लाभांशसम्बन्धी निर्णय गरेको हो। बैंकले असोज २२ गते नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुने स्पष्ट पारेको छ।

साधारण सेयरधनीका लागि प्रस्तावित ७ प्रतिशत लाभांशमा करसमेत समावेश छ। यसका लागि बैंकले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ छुट्याउने प्रस्ताव गरेको छ। बैंकको साधारण सेयरतर्फको चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७ रुपैयाँ २० पैसा रहेको छ।

यसअनुसार १०० रुपैयाँ अंकित मूल्यको प्रत्येक साधारण सेयरमा करसहित ७ रुपैयाँ नगद लाभांश प्रस्ताव भएको छ। एक हजार कित्ता सेयर हुने लगानीकर्ताको प्रस्तावित लाभांश ७ हजार रुपैयाँ हुन्छ। कर कट्टीपछि खातामा आउने रकम भने त्यसभन्दा कम हुनेछ।

यसपटकको निर्णयमा ध्यान दिनुपर्ने अर्को पक्ष बैंकको अग्राधिकार सेयर हो। बैंकले ‘एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर–८.२५ प्रतिशत’ का लागि पनि नगद लाभांश प्रस्ताव गरेको छ। यसतर्फ चुक्ता पूँजीको वार्षिक ८.२५ प्रतिशत दरका आधारमा १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा वितरण गर्ने निर्णय भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार ११:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।