काठमाडौं । एनआईसी एसिया बैंकले पाँच जिल्लाका ६ सामुदायिक विद्यालयलाई शैक्षिक तथा प्रविधिमूलक सामग्री सहयोग गरेको छ।
बैंकले ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखाका विद्यालयलाई विद्यार्थीको पठनपाठन सहज बनाउन आवश्यक सामग्री उपलब्ध गराएको हो।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरूलाई पानी शुद्धीकरण प्लान्ट, विद्यालय पोशाक, झोला, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरलगायत सामग्री प्रदान गरिएको हो।
ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरस्थित श्री दमाइटार आधारभूत विद्यालयलाई पानी शुद्धीकरण प्लान्ट र विद्यालय पोशाक उपलब्ध गराइएको छ। उक्त विद्यालयमा ९९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकका काठमाडौं साउथ सर्कल हेड उज्ज्वल रिमाल, चापागाउँ शाखा प्रमुख तुलसी ढुंगाना र सीएसआर तथा फाइनान्सियल इन्क्लुजन इन्चार्ज ठाकुर श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमृतनाथ गौतमलाई सामग्री हस्तान्तरण गरेका थिए।
त्यसैगरी, कालिकोटको नरहरिनाथ गाउँपालिका–६ स्थित श्री नन्दादेवी माध्यमिक विद्यालयलाई विद्यालय पोशाक, झोला तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको छ।
४७२ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापालाई बैंकका कालिकोट शाखा प्रमुख प्रकाश शाहीले सामग्री हस्तान्तरण गरेका हुन्।
डोटीको शिखर नगरपालिका–५, तिजालीस्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयलाई झोला, एक थान प्रोजेक्टर र अन्य शैक्षिक सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।
३०४ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका उपप्रधानाध्यापक सुरेन्द्र भट्टलाई बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले सामग्री हस्तान्तरण गरेका थिए।
अछामको बान्नीगढी जयगढस्थित श्री नन्दा माध्यमिक विद्यालय र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पनि प्रविधिमूलक सामग्री प्रदान गरिएको छ। दुवै विद्यालयलाई दुई(दुई थान ल्यापटप, चार(चार थान डेस्कटप कम्प्युटर र एक(एक थान प्रिन्टर उपलब्ध गराइएको हो।
बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले श्री नन्दा माध्यमिक विद्यालयका उपप्रधानाध्यापक दयानन्द पन्त र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर सुनारलाई सामग्री हस्तान्तरण गरेका थिए।
यसैगरी, गोरखा नगरपालिका–३, नरेश्वरस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई झोला तथा शैक्षिक सामग्री सहयोग गरिएको छ।
१८५ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका प्रधानाध्यापक गणेशराज सापकोटालाई बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र गोरखा शाखा प्रमुख दीपेन्द्र रेग्मीले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन्।
बैंकले उपलब्ध गराएको सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज बनाउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।



















प्रतिक्रिया