Logo

प्रमुख समाचार

बुढीगण्डकी बाढीले सल्लेरी बजार बगायो



 

काठमाडौं ।गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले सल्लेरी बजार बगाएको छ। आइतबार बिहानदेखि लेदोसहितको बाढी आएपछि सल्लेरी बजारमा ठूलो क्षति पुगेको हो।

बाढीले चुमनुब्री गाउँपालिका क्षेत्रकै जगत बजारमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। नदीमा एक्कासि आएको बाढीले बजार क्षेत्रका संरचनामा क्षति पुर्‍याए पनि क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, बाढीको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार नदीमा पानीको बहाव एकाएक तीव्र बनेको थियो। त्यसक्रममा ठूलो आवाजसमेत सुनिएको उनले जानकारी दिएका छन्।

बाढीको जोखिम बढेपछि बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदी आसपासका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरेको छ। नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार ०७:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।