Logo

विविध

अब सवारीधनी गाडी दर्ता र नामसारीका लागि यातायात कार्यालय जानु नपर्ने



 

काठमाडौं ।सवारीसाधन दर्ता, नामसारी तथा बिमा र बिमा नवीकरणसम्बन्धी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेको छ ।

संशोधित व्यवस्थाअनुसार अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि तोकिएको प्रक्रियाअनुसार सवारी दर्ता, नामसारी, बिमा तथा बिमा नवीकरण गर्न सकिनेछ । यसबाट सवारीसाधन खरिदबिक्रीसँग सम्बन्धित प्रशासनिक काममा सेवाग्राहीले भोग्दै आएका झन्झट कम हुने अपेक्षा गरिएको छ ।

विभागको संशोधित व्यवस्थाले डिलरबाट सवारीसाधनको जाँच भइसकेको अवस्थामा पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने व्यवस्था हटाएको छ । अब डिलरबाट गरिएको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएर तोकेको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारीको काम गर्न सक्नेछन् । यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

संशोधित निर्देशिकाले सवारीसाधनको बिमा तथा बिमा नवीकरणमा पनि सहजीकरण गरेको छ । अब यी कामका लागि सवारीधनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।

नयाँ व्यवस्थाले सवारीसाधन दर्ता तथा नामसारी प्रक्रियालाई सरल बनाउनुका साथै सेवाग्राहीको समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार ०७:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।