Logo

अर्थ

दुई महिनामा वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ८१ करोड, कसको कति?



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ ।

यस अवधिमा १३ वटा बैंकको नाफा बढ्दा ७ बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.८३ प्रतिशतले बढेको छ ।

यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ ।

नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १४:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।