Logo

Technology

मंसिर ५ र ६ गते नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने



काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज नास–आईटी ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ।

‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गर्न लागिएको नास–आईटीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए।

उनका अनुसार एक्स्पो प्रविधि प्रदर्शन गर्ने थलोमा मात्र सीमित नभई व्यवसाय, प्रविधि र प्रतिभालाई एकै ठाउँमा जोड्ने अवसरसमेत हुनेछ।

नेपालमै विकसित सफ्टवेयर तथा प्राविधिक उत्पादनले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरिरहेको भन्दै उनले स्वदेशी प्रविधि उत्पादनलाई नेपाली बजारमा स्थापित गर्न एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता ९एआई० तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन्।

अध्यक्ष चापागाईंले नेपाली प्रविधि उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन एक्स्पो आयोजना गर्न लागिएको बताए।

‘हाम्रा उत्पादन र सेवाहरूलाई अन्तर्राष्ट्रियस्तरमा कसरी लैजान सकिन्छ भनेर काम गरिरहेका छौँ। त्यसमा सबै क्षेत्रबाट सहयोग पाएका छौँ। त्यसैलाई निरन्तरता दिन एक्स्पो आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘नेपालमै बनेका सफ्टवेयरलाई नेपाली बजारसँग परिचित गराउन पनि एक्स्पो महत्त्वपूर्ण हुनेछ।’

नास–आईटीले यसअघि सन् २०२५ नोभेम्बरमा पहिलो संस्करणको एक्स्पो आयोजना गरेको थियो। पहिलो संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी बनाउनुका साथै व्यावसायिक सहकार्य र साझेदारी विस्तारमा केन्द्रित गर्ने आयोजकको अपेक्षा छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार १८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।