काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले छलफलका लागि विभिन्न विषय समेटिएको कार्यसूची तय गरेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए। कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत विषय समेटिएका छन्।
संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयमा छलफल हुनेछ। त्यसैगरी, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनका विषय पनि बैठकको एजेन्डामा राखिएको छ।
बैठकमा सरकारका पछिल्ला गतिविधि तथा आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको दुलालले जानकारी दिए। नागरिक सरोकारका अन्य विषय र विविध विषयमा पनि छलफल हुने जनाइएको छ।
यसअघि मंगलबार बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक परिस्थितिबारे विशेष सम्बोधन गरेका थिए। बुधबारको बैठकमा प्रस्तावित कार्यसूचीमाथि थप छलफल हुने बताइएको छ।




















प्रतिक्रिया