नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले शीर्ष नेतृत्वबीच भएको मतभेदलाई समाधान गरेर केन्द्रीय कार्यसमितिको बैठकले एकताको सन्देश दिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले सरकारको अधिनायकवाद हाबी भएका बेला कांग्रेसले आफूलाई एकताबद्ध बनाएर संघर्षको बाटोमा जानुपर्ने बताए । पार्टीभित्र देखिने मतभेद र अहसमतिलाई मिलाउँदै अधिनायकवादको मुकाबिला गर्नुपर्ने शर्माले बताए ।
‘पार्टीभित्र केही विवाद थियो । सहमति गरेका छौँ’, उनले भने, ‘एकताको सन्देश दिएका छौँ । नेता तथा कार्यकर्तामा नयाँ उर्जा थपिएको छ ।’ शर्माले सरकार एकलौटी रुपमा अगाडि बढ्न खोजेको बताए ।
नेपाली कांग्रेसको महाधिवेशन कहिले हुन्छ भन्ने प्रश्नको जवाफमा प्रवक्ता शर्माले तोकिएको समयमा महाविधेशन हुने बताए । ‘कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुन्छ’, उनले भने, ‘महाधिवेशन अगाडि वा पछाडि हुँदैन ।’
दुई तिहाइ बहुमत पाएको सरकारले आफूलाई शक्तिशाली ठानेर राजनीतिक संस्कार भुलेर अहँकारी बनेको कांग्रेसका प्रवक्ता शर्माले आलोचना गरे ।
‘दुई तिहाइ बहुमत छभन्दैमा कांग्रेससहितका दलहरूसँग कम्युनिस्ट सरकारले राष्ट्रिय महत्वका विषयमा सरसल्लाह गरेन’, उनले भने, ‘सीके राउतसँग सम्झौता गर्नेदेखि विप्लवको नेकपालाई प्रतिबन्ध लगाउने लगायतका निर्णयमा राष्ट्रिय सहमति आवश्यक्ता थियो ।’
नेपाली कांग्रेसका प्रवक्ता शर्माले सीके राउतसँग गरिएको सहमतिका केही बुँदा अस्पष्ट रहेको भन्दै सरकारले सो विषयमा जानकारी दिनुपर्ने बताए । उनले विप्लवको नेकपालाई किन प्रतिबन्ध लगाएको भन्दै प्रश्न गरेका छन् ।
‘सीके राउतसँग गरिएको सहमतिको जनअभिमत भनेको के हो ? कांग्रेससहितका दलहरूसँग यस्ता विषयमा सहमति गर्दा छलफल गर्नुपर्दैन ?’, प्रवक्ता शर्माले भने, ‘विप्लवको नेकपासँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउनुको साटो प्रतिबन्ध नै लगाउने निर्णय ठीक होइन । विप्लवले पनि हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण गतिविधिमा आउनुपर्छ ।’




















प्रतिक्रिया