Logo

प्रमुख समाचार

राजपा र फाेरमबीच एकिकरण : सरकारमा बस्ने कि नबस्नेबारे यस्ताे प्रस्ताव !



राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालले एकअर्कोलाई चिठी पठाएर पार्टी एकीकरण वार्ता प्रक्रिया अघि बढाएका छन्। फोरम नेपालले बुधबार राजपालाई दोस्रो चिठी पठाएको छ। करिब एक महिनाअघि फोरमले राजपालाई एकता प्रस्तावसहितको पहिलो चिठी पठाएको थियो। फोरमको प्रस्तावलाई सकारात्मक मान्दै एक साताअघि राजपाले पनि चिठी पठाएको थियो।

फोरमका महासचिव रामसाह यादवले बुधबार राजपालाई पठाएको चिठीमा वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। वार्ताटोली गठन गरिएको जानकारी औपचारिक रूपमा दिन चिठीमा आग्रह गरिएको यादवले बताए। उनले भने, ‘हामीले औपचारिक रूपमा वार्ताटोली गठन गरेका छौं।

राजपाले पनि वार्ताटोली गठन गरेको जानकारी आउनेबित्तिकै औपचारिक रूपमा वार्ता अघि बढ्छ।’ वार्ता प्रक्रियालाई जतिसक्दो चाँडो अघि बढाउन फोरम तयार रहेको उनले बताए। उनले एकताका लागि राजपाबाट एक साताअघि आफ्नो पार्टीलाई पत्र आएको स्वीकारे।फोरम नेपालले राष्ट्रिय जनता पार्टीलाई बिनासर्त एकीकरण प्रक्रियामा आउन आग्रह गरेको स्रोतले बताएको छ।

दुवै पार्टीबीच एकीकरण विषय अघि बढिरहँदा पार्टी अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजपलाई जवाफी पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन्।‘हामीहरुमध्ये कोही सरकारमा र कोही प्रतिपक्षमा रहेकै कारणले मात्र पार्टी एकीकरणजस्तो महत्वपूर्ण सवालमा बाधा अवरोध हुनुहुँदैन’, पत्रमा भनिएको छ, ‘यो नीतिगत सवाल नभई रणनीति तथा कार्यनीतिक मात्र सवाल हो जुन परिवर्तन भइरहन्छ।

’फोरमले २०७५ चैत ६ गतेको मितिमा अध्यक्ष यादवले हस्ताक्षरसहितको पत्र पठाएको हो।सरकारमा रहने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्न एकीकरणपछि बन्ने नयाँ पार्टीलाई जिम्मा दिनुपर्ने पत्रमा उल्लेख छ। ‘सरकार वा विपक्ष कहाँ रहेर के कार्य गर्ने, कस्तो भूमिका खेल्ने ?

एकीकरणपछि बन्ने पार्टीले निर्णय गरेअनुसार हुनेगरी पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउन सकिन्छ’, पत्रमा भनिएको छ।यसअघि राजपाले एकीकरण प्रक्रियामा अघि बढ्न सरकार छोड्न आग्रह गर्दै पत्र पठाएको थियो। फोरमले त्यसको जवाफ दिएको हो।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।