Logo

प्रमुख समाचार

एकीकृत बस्ती बनाउँछौं : मुख्यमन्त्री



प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएका पीडित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा उनले हावाहुरीका कारण घरबारविहीन सबै परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने जनाएका हुन् । उनले भने, ‘प्रदेश सरकारले उहाँहरुका लागि सामूहिक पुनर्वासका लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको ५ सदस्यीय समितिले पनि त्यही सिफारिस गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’

उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए । उनले भने, ‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं ।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्न जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले घट्ना भएकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि जनाए । उनले भने, ‘बिहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ घाइतेहरुको उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए ।

पीडित परिवारलाई राहत जाने काम भइरहेको र अहिले टोल-टोलमा टेन्ट लगाइएको उनले बताए । एक फरक प्रसंगमा उनले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको स्पष्ट पारे । उनले भने, ‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोच पनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनुहुँदैन् ।’

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।