Logo

प्रमुख समाचार

राष्ट्रपतिद्वारा राष्ट्रिय एकता र सहिष्णुताको कामना



इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएकी छिन् ।

राष्ट्रपतिद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छिन्।

राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेकी छिन् ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

शुभकामना सन्देशमा उनले पवित्र महीना रमदानको बिदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीले बुधबार प्रवाह गरेको सन्देशमा इस्लामिक क्यालेण्डरअनुसार रमदानको एक महीनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रीयहरुलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिने उल्लेख छ ।

त्यसलगत्तै वर्षका बाँकी अवधिका लागि असल मानिसको जीवनयापन गर्न अभ्यस्त भएको खुशियालीमा यो पर्व मनाउने गरिएको विश्वास पनि मुस्लिम समुदायमा रहेको उनले बताए ।

नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको छ भनेका छन्।

“उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ”, सन्देशमा भनिएको छ ।

संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ ।

सन्देशमा देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको भनिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।