Logo

खेलकुद

सहज जितसँगै नेपाल इस्टर्न रिजन क्रिकेटको फाइनलमा



एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै ९० रन बनायो ।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै नेपालका कप्तान रोहितकुमार पौडेलले ३१ रन जोड्दा पवन सर्राफले १८ रनको योगदान गरे । बलिङतर्फ मलेसियाका लागि मोहम्मद खैरले दुई तथा मोहम्मद अमिरले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

मलेसियाका लागि मोहम्मद अमिरले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै हइकुल मोहम्मद खेरले १२ रन जोड्दा वान अमिरउल ११ र अहमद अक्मलले १० रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिँदा तिलकरा भण्डारी, कमल ऐरी र रशिद खानले समान एक–एक विकेट लिए ।

अब नेपालले फाइनल खेलमा हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।