Logo

अचम्म

१६ बाँदर पोखरीमा हाम फालेर मरे, ९ को जिवितै उद्वार



सिन्धुपाल्चोकको एक पोखरीमा १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा म‌ंगलबार घटना भएको हो । बाँदरको हुल अन्य समय भन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए ।

‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।
त्यसपछि जम्मा भएका गाउलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए।

डुबेर छटपटाइरहेकालाई बाहिर निकाले । ‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी  अचम्ममा पर्‍यौं,’ स्थानीय कुलप्रसाद दाहालले भने, ‘९ वटालाई बचाउन सकियो । १६ वटा मरेछन्। अरुलाई धपाउन पनि गाह्रै भयो ।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दुस्खी बनाएको उनले बताए।

‘गाउँले मिलेर बाँसले बाँदर निकालेका हौं,’ उनले भने, ‘पोखरी बर्खाले आधाआधी भरिएको छ।’ गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए। एउटा बाँदर आएर पहिलेदेखि नै पोखरी छेउ उभिएर घोरिएर हेर्ने गरेको देख्दैआएको केहीले बताएका छन् ।

त्यसैले हाम फालेपछि अरुले पनि हाम फालेको हुनसक्ने गाउँलेको भनाइ छ। आफ्नै छाँया देखेर डुबेको बाँदर बचाउने भन्दै बाँदर हाम फालेको या अग्रज बाँदरको अभिनय गरेको हुनसक्ने अनुमान छ। ‘जे पनि हुन सक्छ तर, घटना एक प्रकारले रहस्य नै बनेको छ,’ चौतारा साँगाचोकगढी–१३ का वडाध्यक्ष रामप्रसाद गौतमले भने, ‘यो अघि यस्तो घटना हामीले सुनेका पनि थिएनौं।’

सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा सयभन्दा बढि समुहमा राता बाँदर छन् । बाँदर विशेषज्ञ मुकेश चालिसेले भने यसरी बाँदरले छायाँ देखेर हाम फालेको हुने कुरा लगभग असम्भव रहेको बताए । ‘बाँदर पानीमा मज्जाले पौडन सक्छ। पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्छ,’ उनले भने, ‘या पोखरीमा करेन्ट लगाइएको हुनसक्छ। त्यत्तिकै बाँदरले हाम फाल्दैनन्।’ यसरी बाँदरले सामूहिक रुपमा हाम फालेको कुरा पहिलोपटक सुनेको उनले बताए। ‘अनुसन्धान गर्न जरुरी छ,’ उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार ०८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।