कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए। बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्थाका विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघबारे छलफल गर्ने कार्यसूची थियो ।
कांग्रेस बैठक डेढ महिनाको बीचमा एक दर्जन पटक बस्यो । जारी बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । तीमध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए पनि छलफल बिनै पारित भएका छन् ।
असार २९ को बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो । साउन २६ को बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ सर्वसम्मत पारित गरी लागू गर्ने निर्णय गरेको थियो । बैठकले तनहुँमा गठित पार्टीको समानान्तर समिति खारेज गर्ने निर्णय गरेको थियो ।
यीबाहेक बैठकमा पेस भएका अधिकांश एजेन्डा छलफलबिनै पारित भएका हुन् । ‘निर्देशिका र नियमावली पार्टीबाट पारित भएका हुन् । अरू एजेन्डा केन्द्रीय समिति बैठकमा पेस भए पनि छलफलकै क्रममा छन्,’ केन्द्रीय सदस्य डा. नारायण खड्काले भने, ‘छलफलकै क्रममा रहेका विषयलाई त कसरी पारित भयो भन्ने ? मलाई जानकारी भएको नहुन पनि सक्छ।’
बैठकमा वैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालित ‘हिमाल, पहाड, तराई-मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन पेस भए पनि छलफल भएको छैन। बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रगति विवरण, केन्द्रीय अनुशासन समितिको प्रगति प्रतिवेदन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामको प्रगति प्रतिवेदन पेस भएका छन् । तर यी कुनै एजेन्डामा छलफल भएको छैन ।
‘बैठकमा पेस भएका कतिपय विषयमा धेरै छलफल आवश्यक देखिँदैन । पारित भएसरह नै हुन्,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘महत्वपूर्ण विषयमा छलफल सुरु भएको छैन ।’
उनले नियमावली केन्द्रीय समितिबाट पारित भए पनि त्यसले अझै पूर्णता पाइनसकेको बताए । ‘प्रदेश कमिटीबारे निर्देशिका मौन छ। संघीयताअनुसार स्थानीय तहमा मात्र संरचना बनाएर हुँदैन । प्रदेश कमिटी गठन नभएसम्म यो पनि अधुरै हुन्छ,’ उनले भने ।
भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंगठनका सम्बन्धमा बैठकमा छलफल भएको छैन । त्यस्तै जनसम्पर्क समिति, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने, देशको समसामयिक राजनीतिक विषयवस्तु र विविध विषयमा छलफल भएको छैन ।
‘बैठकमा पेस भएका सबैजसो विषय पारित भइसकेका छन्,’ केन्द्रीय सदस्य एनपी साउँदले भने, ‘अब भातृसंस्था र जनसम्पर्क समितिबारे छलफल हुन बाँकी छ। भ्रातृसंस्थाबारे आगामी बैठकमा छलफल हुन्छ ।’ कांग्रेस केन्द्रीय समिति बैठक भदौ ११ मा बस्दैछ । अन्नपूर्णबाट ।
सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन् । उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताए ।
देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गरे । उनले भने, ‘ अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए कि बोल्न पनि पाइँदैन भनेर ।’





















प्रतिक्रिया