Logo

साहित्य

तिम्रै पर्खाईको गजल संग्रहभित्रको कोर्नु हुन्न शिर्षकको गजलको समिक्षा



जात धर्म, संस्कृतिको सिमा कोर्नु हुन्न,
बन्धुत्वको मुलमन्त्र अब छोड्नु हुन्न

यो गजलको हरफ हो टिका देबी सापकोटा पोख्रेलको तिम्रै पर्खाईको गजल संग्रहभित्रको कोर्नु हुन्न शिर्षकको गजलको हरफ। पोख्रेलको गजल तिम्रै पर्खाइमा हातमा परेपछि एक किसिमको रोमान्टिक मुड बन्छ । उहाँको गजल पुस्तिकामा विभिन्न किसिमको गजलहरु छन् । ५३ वटा गजल रहेको यस पुस्तकमा अगाडी कभर पेजमा खाली बेञ्चको तस्बिर रहेको छ ।

छोटा बान्की परेको गजलहरु यो संग्रहमा छन। र संकलित गजलहरुमा समाजिक आदर्शको मीठो स्वाद चाख्न पाइन्छ भने यहि प्रेमिल भावनाले ओतप्रोत भएको एउटा मन पाइन्छ यी दुईबिचको मिलनको एक मीठो फल हो तिमै्र पर्खाइमा गजल संग्रह । त्यसो त ब्यक्ति व्याथा चिन्तन र साधनाले नै रचनाहरु राम्रा र ओझिला बनेका हुन । आफ्नो जागिरको बावजुद पनि साहित्यको साधना गर्ने एक खालको जोस भएकी साहित्यकारमा दरिनुभएको सापकोटा निकै शुक्ष्म बिषयलाई केलाउनुहुन्छ ।,

नेपाली भाषा साहित्यलाई अत्यान्तै माया गर्ने साहित्यकार हो सापकोटा । देश र बन्धुत्वको निकै कदर गर्ने सापकोटाको कलम निकै प्रगतिशिल छ । उहाको गजलहरुले सापकोटाको चेतनाको स्तर निकै माथि उठेको देखिन्छ । उहाले साहित्यको क्षेत्रमा आएको समस्याहरुलाई समाधानमा पहल गर्दै साहित्य सभ्य रहनु पर्ने कुरामा निकै ध्यान पुर्याउनु भएको छ । त्यसो त उहाको गजलमा पिडा र आशुको पनि छन तर पनि आशुको माध्यमबाट पनि जीवन्त बिम्बहरुलाई प्रस्तुत गर्नुभएको छ ।

सापकोटाले समाजको बारेमा निकै संबेदनशिल भएर गजल लेख रचना सिर्जना गर्नुहुन्छ । नेपाली भाषामा देखिएको समस्याहरुबारे निकै चिन्तन गर्नुहुन्छ । त्यसो त गजलको सैद्धान्ति नियमबारे मलाई त्यति थाहा छैन तर पनि गजलको संगठन त्यसले बोक्ने साहित्य भार बारे मेरो आफनो किसिमको बुझाई छ । साहित्यले बोल्ने भाषा त्यस्ले समाजलाई दिने योगदान र सन्देश भएन भने साहित्य साहित्य हुदैन मात्र त्यो समय बर्बात हो । समाजमा के छ भन्ने भन्दा पनि समाजलाई दिने सन्देशको तहले साहित्यको स्तर बढाउने काम नै साहित्य र कलमजिबीहरुको धर्म हो । यो धर्म निभाएको छ साहित्यका सापकोटाको पुस्तकले । तिम्रो बाटो आज पनि छेकु छेकु लाग्छ

तिमीलाई प्रेमपत्र लेखुलेखु लाग्छ । भावनाको निकै शशक्त अभिव्यक्ति यस गजलमा पाइन्छ । मान्छेले मनमा रहेको ब्याथालाई जस्ताको तस्तै शब्दमा उर्तान सक्दैन । जस्तै कसैले धेरै मन दुखायो कति धेरै मात्रामा भन्न सक्दैन तर सापकोटाले त्यही भावनालाई राम्रोसंग शब्दमा उर्तान सक्नुभएको छ । प्रस्तुत सङग्रहमा गजल मा उहा भन्नुहुन्छ आशुसंग बिताएको रात कति छन । मनभित्र दवाएको बात कति छन । मान्छेले मनको कुनै दुरदराजमा लुकाएको दुख कति समालेर राख्छ । त्यस्को बारेमा निकै राम्रो तरिकाले भावना व्यक्त गर्नुभएको छ ।

पहिलो गजल बात कति छन् , आशु झर्यो, तिम्रै माया लाग्छ कसम, अलग छैन, आउदैछु साथी भेटे, टाढा नदेख, मायाले लगायत गजलमा सापकोटाले दैनिक मायामा तड्पिएर मायाकै यादमा बस्नेहरुको ब्याथालाई समेट्नु भएको छ । बिदेश या कुनै कारणले आफनो प्रेमी टाढा भएको र मायालुको यादमा बस्नेहरुको मनको भावनालाई राम्रोसंग उतार्नुभएको छ ।

उहाले प्रेमील मनहरुको बहलाई समेटेर लेख्नुभएके छ । कावासोती उहाको जन्म ठाऊ हो र यहा उहाको बाल्यकाल बितेको छ । यो ठाउ छोडेर जादाको बाध्यतालाई सापकोटाले निकै मार्मिक तरिकाले लेख्नुभएको छ । बाध्यता थियो जीवनको छोडेर जान पर्ने, रुदै गए म तिमीले अंगालो हालेर छेक्दा ।

उहाले कावासोती यहाको माटोलाई निकै माया गेरेको कावासोती गजलमा लेख्नुभएको छ । जन्म ठाऊ कर्मथलो भन्दा प्रिय हुन्छ यस्को बारेमा लेखिकाले माइती गाऊको प्रेमलाई दर्साउनुभएको छ । माया मारे पनि संम्बन्धलाई सधै टिकाई राख्न पर्ने उहाको दशौ गजलमा भाब रहेको छ । संगै नरहे पनि अर्थात छोडे गए पनि माया अर्कैलाई गरेपनि याद गरिरहन खालको आदर्शलाई आत्मसाथ गर्दै लेख्नुहुन्छ पराईको बगैचामा प्रीत सार्यौ भने, नभन्नु है तिमी मलाई माया मार्यौ भनी उहा शायद कुनै बाध्यतामा परेर कसैले छोड्यो भने यादमा रहिरहने र माया गरिरहने कोमल मनको कल्पना गर्नुहुन्छ । त्यस्तै एघारौ गजलमा उहाले माया मारेर गए पनि सुनसान जताततै रात उस्तै थियो, एकाका भैरहने चाहात उस्तै रहेको बताउनुभएको छ ।

सापकोटाले बिभिन्न किसिमको भावनालाई निकै सरल भाषामा लेख्नु भएको छ । आफनो देश घर छोडर बिभिन्न खालको लोभमा परेर मान्छेहरुले दुख पाएको यर्थातलाई पनि लेख्नुहुन्छ । उहाको गजल सबै लयमय छ । गुनगुनाउन सकिने र निकै मर्मस्पर्शी खालका गजलहरु छन । माया नगर्नेहरुले मर्छु भनेर धम्की दिने खालको अल्लारे प्रेमको कुनै मूल्य नहुने बेअर्थको पे्रम मात्र बासना हुने बताउनुभएको छ ।

आकास, धर्तिल बादल पानी आशु जुन शित जस्ता बिम्बहरुको प्रयोग गरेर लेखिकाले प्रकृतीको बर्णन संगै आफुलाई ढाल्नुभएको छ । समाज र यहाको परिस्थिती बारेमा लेख्नुहुन्छ । त्यसो त सापकोटाको लेखनीमा निकै गहनता छ तर सापकोटाले यहा लेखेको ६ वटा गजल बाहेक सबै प्रेम त्यस्को बारेमा छ । प्रेममा पर्दा धोका खादा र यादमा तड्पिएको मात्र धेरै गजल रहेको छ कति राम्रो र फेवाताल, कावासोती कोर्नुहुन्न बलिदान दिएकै हो, संबिधानका कुरा र तोडे हुन्न र जस्तो गजल अलि फरक धार बिचार बोकेको छ ।

अरु सबै माया र गंन्थन भाव बोकेको छ । यस्को सबल पक्ष भनेको जुन शब्दले जे भन्न खोजेको हो, त्यो निकै राम्रो तकिाले भनिएको छ । दुई वटा संकायमा मास्टर गरिसक्नु भएको सापकोटाले तीनबटा गजल समाजको ऐनाको रुपमा काम गर्छ तर अन्य गजलहरु भने माया र भावनाको कुरा गरेको छ । लेखकले समाजको अन्य व्यक्तिको भावनालाई समेटेर लेखेमा सफल भएको मानिन्छ यस हकमा सापकोटा रचनामा निकै सफल हुनुहुन्छ । यस्को बावजुत पनि गजल हरु भावनामा बढि बहेको छ । श्रृङगार र शान्त रसमा बढि लेखिएको छ ।

लगनशिल र मेहनतले लेखिएको सापकोटालाई लेखनमा अझै निखार बढ्दै जाओस मेरो शुभकामना : शिल्पा लोचन

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार ०५:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।