Logo

सभापति देउवाद्वारा दुःख व्यक्त



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता  तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरे । साथै उहाँले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् ।
 
उहाँले आज  विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई  उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ  ।
 
पूर्वप्रधानमन्त्री  देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटकपटक पहिराले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गरे  ।
 
उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सम्पूर्ण नेताकार्यकर्तामा अपिल गर्दै उहाँले पहिरामा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे  ।रासस 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : १७ बजे