काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै पार्टीको सबैभन्दा प्रभावशाली कार्यकारी पदमध्ये एकमा जित हासिल गरेका हुन्।
महामन्त्री पदका लागि चार जनाबीच भएको प्रतिस्पर्धामा आचार्यको जितलाई पार्टी प्रतिनिधिहरूले संगठन निर्माण, नीति विकास र डिजिटल व्यवस्थापनमा योगदान दिएका नेतृत्वप्रतिको विश्वासका रूपमा व्याख्या गरेका छन्। यससँगै उनी अब औपचारिक रूपमा रास्वपाको संगठन सञ्चालन, रणनीति निर्माण र कार्यकर्ता परिचालनको नेतृत्वदायी भूमिकामा पुगेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँमा २०४६ सालमा जन्मिएका आचार्यले प्रारम्भिक शिक्षा अन्नपूर्ण स्कुल र त्यसपछि घोराहीस्थित दीपशिखा बोर्डिङ स्कुलबाट पूरा गरेका थिए। उच्च शिक्षाका लागि भारतको पुणे पुगेका उनले बायोटेक्नोलोजी इन्जिनियरिङ अध्ययन गरे भने पछि काठमाडौं विश्वविद्यालयबाट एमबीए पूरा गरेका हुन्। विज्ञान, प्रविधि र व्यवस्थापनको संयोजन भएको शैक्षिक पृष्ठभूमिले उनलाई संगठन व्यवस्थापनमा दक्ष नेताका रूपमा चिनाएको छ।
राजनीतिमा आउनुअघि उनी सञ्चार तथा क्रिएटिभ व्यवस्थापन क्षेत्रमा सक्रिय थिए। गोरखा मिडिया प्रालिमा क्रिएटिभ डाइरेक्टरका रूपमा कार्यरत रहँदा रवि लामिछानेसँग उनको सहकार्य सुरु भएको थियो। त्यही सहकार्य राजनीतिक यात्रामा रूपान्तरण हुँदै नयाँ दल निर्माणको अभियानसम्म पुगेको हो।
२०७९ जेठ ७ गते रास्वपा स्थापना हुँदा संस्थापक टोलीका सदस्य रहेका आचार्यले पार्टीको नाम, चुनाव चिह्न, झण्डा, लोगो, रङ तथा समग्र ब्रान्डिङको नेतृत्व गरेका थिए। पार्टीको पहिलो घोषणापत्र तयार पार्ने टोली, विधानको प्रारम्भिक मस्यौदा, सदस्यता व्यवस्थापन प्रणाली तथा डिजिटल मोबाइल एप विकासमा समेत उनको महत्वपूर्ण भूमिका थियो। त्यसैले पार्टीभित्र उनी ‘ब्रान्ड आर्किटेक्ट’ र ‘संगठनका इन्जिनियर’का रूपमा परिचित छन्।
पार्टी स्थापना भएदेखि अभियान विभागको जिम्मेवारी सम्हालेका आचार्यलाई २०८० मंसिरमा सहमहामन्त्री बनाइएको थियो। त्यसपछि प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पनि उनले सम्हाले। संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण, नीति कार्यान्वयन र चुनावी तयारीमा सक्रिय रहँदै आएका उनी अब महामन्त्रीको जिम्मेवारीमा पुगेका छन्।
पारिवारिक रूपमा नेकपा (एमाले)को राजनीतिक पृष्ठभूमिसँग जोडिएका आचार्यले भने परम्परागत राजनीतिक बाटोभन्दा वैकल्पिक राजनीतिक अभियान रोजे। सुशासन, पारदर्शिता र प्रविधिमैत्री संगठन निर्माणलाई प्राथमिकतामा राख्दै उनले रास्वपाको संस्थागत विकासमा योगदान दिएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै संसद्मा पुगेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चामा आएका थिए। त्यसयता उनी रास्वपाभित्र संगठन निर्माणमा सक्षम रणनीतिकारका रूपमा स्थापित हुँदै आएका छन्।
महामन्त्री निर्वाचित भएसँगै अब आचार्यले पार्टीको केन्द्रीय कार्यालय सञ्चालन, नीति कार्यान्वयन, कार्यकर्ता परिचालन, प्रदेश तथा स्थानीय संरचना सुदृढीकरण र आगामी निर्वाचनको रणनीति निर्माणको नेतृत्व गर्नेछन्।
रास्वपाको विधानअनुसार दुई महामन्त्री रहने व्यवस्था छ। तीमध्ये एक निर्वाचनबाट चयन हुने र अर्को सभापतिले मनोनयन गर्न सक्ने प्रावधान रहेकाले अब दोस्रो महामन्त्रीमा कसलाई जिम्मेवारी दिइने भन्ने विषय पनि पार्टीभित्र चासोको विषय बनेको छ।
आचार्यको निर्वाचनलाई रास्वपाले लोकप्रिय नाराभन्दा संगठनात्मक सुदृढीकरण, नीति निर्माण, डिजिटल व्यवस्थापन र दीर्घकालीन संस्थागत विकासलाई प्राथमिकता दिएको संकेतका रूपमा समेत हेरिएको छ। अब उनले महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा कसरी रूपान्तरण गर्छन् भन्ने आधारमा रास्वपाको आगामी राजनीतिक दिशा र संगठनात्मक प्रभावकारिता मूल्यांकन हुने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया