साढे ७ सय मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले १ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चिनियाँ सरकारी कम्पनी पावर चाइनाले नेपाली कम्पनीसँगको संयुक्त उपक्रममा (जेभी) मा १ खर्ब रुपैयाँ लगानी गर्ने भएको हो । आयोजनाको कुल लागत १ खर्ब ३७ अर्ब रुपैयाँ अनुमान गरिएको छ । त्यसमा २६ प्रतिशत लगानी गर्ने नेपाली कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले भने करिब ३७ अर्ब रुपैयाँ व्यहोर्नेछ । जेभीमा चिनियाँ कम्पनीको ७४ प्रतिशत हिस्सा रहनेछ । आयोजना अघि बढाउन सर्वेक्षण, अध्ययन तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यका लागि उक्त जेभीसँग आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, एचआइडिसिएका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका प्रतिनिधिले हस्ताक्षर गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए । ‘समझदारी भएकै मितिबाट १८ महिनाभित्र अध्ययन सकेर डिपिआर तयार गर्ने सर्तमा समझदारी भएको छ,’ उनले भने, ‘कुनै कारणले काम हुन नसके ६ महिना थप गर्न सकिनेछ ।’ अब उक्त जेभी कम्पनीले वडासमक्ष आवेदन गरेपछि अनुमतिपत्र प्रदान गरिने उनले बताए ।
साढे तीन दशकअघि जाइकाले पहिचार गरे पनि ओझेलमा परेको यो आयोजनालाई लगानी बोर्डले ०७५ चैतमा भएको सम्मेलनमा लगानी आह्वान गरेको थियो । त्यसमा लगानी प्रस्ताव गर्नेमध्ये एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रमलगायत जापानी कम्पनी फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकी जे पावरसँगको संयुक्त उपक्रमको नेपाली कम्पनी म्याट्रिक्स इन्टरनेसनल ‘सर्ट लिस्ट’मा परेका थिए । तर, संक्षिप्त सूचीमा परेका कम्पनीहरूसँग बोर्डले प्रस्ताव माग्दै सूचना जारी (रिक्वेस्ट फर प्रपोजल) गरेको थियो । यसमा एचआइडिसिएल–पावर चाइना जेभी छानिएको हो । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया