साँफेबगर नगरपालिका–३ डिग्रेनीकी पार्वती बुढा रावतको छाउगोठमै मृत्यु प्रकरणमा जिल्ला अदालत अछामले जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको छ । बुहारीलाई छाउगोठ बस्न बाध्य बनाएको अभियोगमा न्यायाधीश नवीनकुमार जोशीको इजलासले छत्रलाई दोषी ठहर गरेको हो ।
तर, फौजदारी कार्यविधि संहिताको दफा १५५ अनुसार उनी बिहीबारै ६ हजार नगद जरिवाना बुझाएर कैदमुक्त भएका छन् । सो दफाअनुसार एक वर्षभन्दा कम कैद सजायको हकमा नगद जरिवाना बुझाए कैद छुट हुने व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को उपदफा ४ बमोजिम ४५ दिन कैद फैसला गरिए पनि फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार नगद जरिवाना बुझाएर घर फर्किएको न्यायाधीश जोशीले बताए ।
२१ वर्षीया पार्वतीको १५ मंसिरमा छाउगोठमै मृत्यु भएको थियो । घटनाको चार दिनपछि १९ मंसिरमा छत्रलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यतिवेला पार्वतीका श्रीमान् र सासूससुरा रोजगारीका सिलसिलामा भारतमा रहेकाले सबैभन्दा नजिकको अभिभावकका रूपमा उनी पक्राउ परेका थिए । प्रहरीले उनलाई हिरासतमा राख्यो । तर, अदालतको थुनछेक बहसका क्रममा उनले हिरासतबाहिरै बसेर अनुसन्धानमा सहयोग गर्ने कबुल गरेपछि २५ दिनको हिरासत बसाइपछि १५ हजार धरौटीमा छुटे ।
अदालतले ४५ दिनको कैद फैसला गरेकोमा हिरासत बसेको २५ दिन कटाएर बाँकी २० दिनको दैनिक तीन सयका दरले ६ हजार जरिवाना असुल गरेको हो । जरिवाना बुझाएर छत्र बिहीबार नै घर फर्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक भारतीले बताए । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया