Logo

पत्रपत्रिका

नेपाल भ्रमण वर्ष २०२० : यतीमा ठट्टा, मस्कट चर्को विवादमा !



नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् ।

भ्रमण वर्षको प्रवद्र्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको हिमाली भेगमा यतीको पाइला देखेको बताउँदै आएका छन् । अनुसन्धानकर्ताले पनि यसको स्वरूपको वर्णन गरेका छन् । सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभर रौं भएको भयंकर जीव (यती) ले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन् ।

‘विभिन्न विवरण, पर्वतारोहीका भनाइ र लोककथामा यतीको टाउको कोणात्मक भएको वर्णन छ’, भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडे भन्छन्, ‘शरीरमा बाक्लो रौं हुन्छ र पाइला पनि विशेष खालको हुन्छ ।’

भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ । ‘यतीलाई विश्वभर चिनाउन सरकार संवेदनशील भएको देखिँदैन’, लेखक पाँडे भन्छन्, ‘यतीको स्वरूपमा ठट्टा भएको छ ।’
विवरण र फेला परेका प्रमाणका आधारमा यतीको स्वरूप सच्याइनुपर्ने उनी बताउँछन् । उनका अनुसार यतीको पाइला, सोलुखुम्बुको एक गुम्बामा रहेको खप्पर, हातको स्केलेटन, छाला आदिका आधारमा यती बनाए जनविश्वाससँग मेल खानेछ ।

नेपाल भ्रमण वर्षको सचिवालय र यती आर्ट प्रोजेक्टको संयुक्त प्रयासमा यतीको मस्कट तयार पारिएको हो । कलाकार आङछिरिङ शेर्पाले यसको डिजाइन गरेका हुन् । त्यसपछि मूर्तिकार विजय महर्जनले यतीको डमी तयार पारे । यसका लागि केशरमहलमा कार्यालय खोलिएको छ । सचिवालयले यसको जिम्मा ग्यालरी यमक्युबका कलाकारलाई दिएको थियो । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०७:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।