Logo

पत्रपत्रिका

स्कुलबाटै बालिका अपहरण, १६ लाख फिरौती माग्ने युवक पक्राउ



मध्यपुरथिमी नगरपालिका ५ निकोसेरास्थित ग्लोरी इंग्लिस स्कुलबाट अपहरित ६ वर्षीय बालिका डेढ घण्टापछि अपहरणमुक्त भएकी छिन् । यूकेजी पढ्ने बालिका अपहरण गरी परिवारसँग १६ लाख फिरौती माग्ने सर्लाही लालबन्दी ५ घर भइ मध्यपुरथिमी नगरपालिका ६ बस्ने २० वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले आइतबार मध्याह्न १२ः१० बजे घरबाट लिन पठाएको भन्दै बालिकालाई विद्यालयबाट लिएर गएका थिए । महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी शान्तिराज कोइरालाका अनुसार थापाले बालिकालाई मोटरसाइकलमा राखेर सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडा पुर्याएका थिए । उनले बालिकाका बाबुलाई फोन गरेर ३ बजेसम्म १६ लाख फिरौती दिन धम्क्याएका थिए ।

घ्याम्पेडाँडा आसपासका मानिसले जंगलमा रोएको आवाज सुनेर खोजी गर्दा हातखुट्टा बाँधिएकी बालिका देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालिकालाई दिउँसो १ः३० बजे विद्यालयको सम्पर्कमा पुर्याएको थियो । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।