Logo

अर्थ

एयरबसको किस्ता तिर्न नसकेपछि निगमद्वारा ब्याजलाई पनि साँवामा गाभ्न प्रस्ताव



नेपाल वायुसेवा निगमले कर्जाको किस्ता तिर्न नसकेपछि करिब डेढ अर्ब रुपैयाँ ब्याजलाई पनि साँवामा जोड्न भन्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषलाई वाइडबडी जहाजको मात्रै चार किस्ता तिर्न सकेको छैन । त्यस्तै, सञ्चयकोषलाई न्यारोबडी जहाजको दुई किस्ता तिरेको छैन । नागरिक लगानीकोष र सञ्चयकोषलाई निगमले साँवा र ब्याजबापत करिब ४ अर्बको किस्ता रकम बुझाउन सकेको छैन । यी दुवै संस्थाबाट निगमले जहाज खरिद गर्न ३४ अर्ब रुपैयाँ कर्जा लिएको छ । निगमको प्रस्तावलाई अर्थले स्वीकृति दिएमा कर्जा रकम बढेर ३५ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

‘तिर्न नसकेको किस्ताको ब्याजलाई साँवामा परिणत गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेका छौँ, अर्थले सहमति दिएमा साँवामा जोडिन्छ,’ निगमका अर्थ विभागका प्रमुख उमेश पौडेलले भने । दुई जहाजको ब्याजलाई साँँवामा परिणत गर्न सञ्चयकोष र लगानीकोषले आग्रह गरेको र त्यसमा अर्थको सहमति चाहिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिए । कति ब्याज साँवामा जोडिन्छ भन्ने ठ्याक्कै हिसाब ननिकालेको, तर १० प्रतिशतको घट्दो ब्याजमा हिसाब गर्दा १ अर्ब ५० करोड हाराहारी रकम साँवामा जोडिने पौडेलले जानकारी दिए ।

निगमले वार्षिक ब्याज नै ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी तिर्नुपर्छ । त्यस्तै प्रत्येक तीन महिनामा १ अर्ब १३ करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ । उनका अनुसार यसपटक पुसमा तिर्नुपर्ने किस्ता पनि १२ करोड घटाएर १ अर्ब १ करोड मात्रै बुझाइएको छ ।

निगमले सञ्चयकोषलाई वाइडबडीको १२ अर्ब र न्यारोबडीको १० अर्बसहित २२ अर्ब रुपैयाँको ब्याज र किस्ता तिर्नुपर्छ । त्यस्तै, नागरिक लगानीकोषलाई वाइडबडी खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ ऋणको ब्याज र किस्ता तिर्नुपर्छ ।

एक वर्षअगाडि पुस मसान्तमा वाइडबडीको पहिलो किस्ता तिर्नुपर्नेमा चार किस्ता बाँकी भइसक्दा पनि तिर्न सकेको छैन । जसले गर्दा वाइडबडीको मात्रै ३ अर्ब १६ करोड किस्ता बाँकी छ । त्यस्तै न्यारोबडीको ७० करोड रुपैयाँ किस्ता बाँकी छ । निगमलाई दुवै संस्थाले वार्षिक १० प्रतिशत ब्याजका दरले १५ वर्षको अवधि तोकेर ऋण दिएका थिए । तर, व्यवस्थापनका कमजोरीका कारण समयमै ठूला जहाज उडाउन नसक्दा निगमले ऋणको किस्ता तिर्न नसकेको हो । निगमले चार वर्षअगाडि सञ्चयकोषसँग १० अर्ब ऋण लिएर दुई थान एयरबस ३२० सिरिजको न्यारोबडी खरिद गरेको थियो । दुई वर्षअघि नागरिक लगानीकोषसँग १२ अर्ब र सञ्चयकोषसँग १२ गरी २४ अर्ब ऋण लिएको थियो । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।