Logo

पत्रपत्रिका

मोदीको नेपाल भ्रमण गराउन राजदूत आचार्य सक्रिय



भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव हर्षवर्द्धन शृंगलासँग बेग्लाबेग्लै भेट गरेका छन् । शुक्रबार विदेशसचिवसँग र बुधबार सुरक्षा सल्लाहकारसँग आचार्यले भेटेका हुन् ।

विदेशसचिवसँगको भेटमा नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरिप्रसाद ओडारीलाई लगेका थिए भने डोभालसँग एक्लै भेट गरेका थिए । दुवै भेटमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा कुराकानी भएको नेपाली दूतावासले ट्विटमा जनाएको छ । भेटवार्ताबारे राजदूत आचार्यले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपाल–भारत सम्बन्धका सबै विषयमा खुला र हार्दिक कुराकानी भएको छ ।’

परराष्ट्र स्रोतका अनुसार राजदूत आचार्यले विदेशसचिव शृंगलासँग नेपाल–भारत विदेशसचिवस्तरीय वार्ता यथाशीघ्र हुनुपर्नेमा जोड दिएका थिए । विदेशसचिव शृंगलालाई नेपाल भ्रमणका लागि परराष्ट्रसचिव शंकरदास बैरागीले पठाएको निमन्त्रणाको पनि राजदूत आचार्यले स्मरण गराएका थिए । विदेशसचिव शृंगलाले नेपाल भ्रमणमा आउने र विदेशसचिवस्तरीय वार्तासमेत हुने बताएका थिए ।

राजदूत आचार्यले विदेशसचिव शृंगलामार्फत आगामी चैतमा आयोजित सगरमाथा अन्तर्रा्ष्ट्रिय संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी ओलीले दिएको निमन्त्रणाको पनि स्मरण गराएका थिए । नेपाल सरकारले मोदीलाई सगरमाथा संवाद वा बुद्ध जयन्तीमा भ्रमण गराउन भारतीय विदेश मन्त्रालयसँग आग्रह गर्दै आएको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार ०८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।