Logo

अर्थ

भोटेकोशी गाउँपालिको सातौं गाउँसभा वडाध्यक्षहरुद्बारा बहिष्कार



भोटेकोशी गाउँपालिकाका बहुमत अर्थात तीन वडाध्यक्षहरुले गाउँपालिकाको सातौं गाउँसभा बहिष्कार गरेका छन् । पाँच वटा वडा रहेकोसोे गाउँपालिकाका वडा नम्बर १, २ र ४ का वडाध्यक्षहरुले गाउँपालिकाले मनोमानी ढंगले बजेट विनियोजन गरेको भन्दै बुधबारको नीति तथा कार्यक्रम र बजेट बहिष्कार गरेका हुन् ।

बुधबार भोटेकोशी गाउँपालिकाले आर्थिक वर्ष ०७७र ७८ का लागि अनुमानित बजेट ल्याएको थियो । गाउँपालिकाका ५ वटा वडाका ३ जना वडाध्यक्षले बजेट सार्वजनिकीकरण कार्यक्रम बहिष्कार गरेका हुन् ।

वडा नम्बर १ का मुके शेर्पा, ४ का साङदोर्जे शेर्पा र २ का कैलाश पौडेलले बजेटको सार्वजनिकीकरण बहिष्कार गरेका हुन् । उनीहरु तीनैजना काँग्रेसबाट निर्वाचित हुन् । उनीहरुले ४६ करोडको बजेट गाउँपालिकाले प्रस्तुत गर्दा वडामा ८० लाख बजेट मात्रै दिएको भन्दै असहमति जनाएका हुन् ।

वडा नम्बर ४ का वडाध्यक्ष शेर्पाले विकासको माग वडामा धेरै भएको तर बजेट भने एकदमै कम भएकाले बजेट १ करोड ५० लाख विनियोजन गर्न गाउँपालिका अध्यक्षलाई भन्यौं तर अध्यक्षज्यूले मान्नुभएन त्यसैले बहिष्कार गरेको बताए । उनले भने, ‘ गत वर्ष पनि विकास बजेट खर्च गर्न नसकेर ६ करोड फ्रिज भयो हामीलाई बजेट देउ हामी काम गर्छैं भन्दा मान्नुभएन ।’ गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका नाममा लाखौ बजेट राखेर वडामा बजेट नदिएको वडाध्यक्षहरुको आरोप छ ।

अध्यक्ष रोजगार कोष, उपाध्यक्ष कोष बनाएर झन्डै डेढ करोड बजेट विनियोजन गर्ने तर वडालाई चारो छरेको जस्तो गरेको भन्दै शेर्पाले आपत्ति जनाए ।गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा अध्यक्ष रोजगार कार्यक्रम भनेर ५० लाख बजेट विनियोजन गरिएको छ भने अध्यक्ष कोष भनेर छुट्टै कोष बनाइएको छ । यो केन्द्रको प्रधानमन्त्री रोजगार कोषको ठ्याक्कै नक्कल जस्तो देखिन्छ । साथै वडाध्यक्षहरुले गाउँपालिकाको भवन निर्माण गाउँपालिकाको केन्द्रमा नभएको बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।