भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र शहरी विकासमन्त्री कृष्णगोपाल महर्जनले चन्द्रागिरी नगरपालिका–१५ स्थित निर्माणाधीन पूर्वाधारको अवलोकन गर्नुभएको छ ।
उहाँहरुले आज संयुक्तरूपमा त्यहाँस्थित पार्क, सडक र पुलको निरीक्षण गर्नुभएको हो । शहरीमन्त्री श्रेष्ठ र भौतिकमन्त्री नेम्वाङले काठमाडौँ क्षेत्र नं ९ र १० जोड्ने बल्खु पुल, भीराडिल खाइके साकुरा पार्क र विष्णुदेवी मन्दिरलगायत अनुगमन गर्नुभयो । मन्त्री श्रेष्ठले बल्खुस्थित पुल निर्माण गत वर्ष शुरु भएकामा प्रगति राम्रो देखिएको बताउनुभयो ।

हालसम्म सो पुलको ८० प्रतिशत काम सकिएको छ । वडा नं १५ देशकै उत्कृष्ट स्थानीय तहको वडा भएको उहाँको जिकिर छ । बल्खुको भीर पाखालाई वडाध्यक्ष उत्तमबहादुर राउतको पहलमा नयाँ नाम र काम शुरु भएको उहाँले बताउनुभयो । भीरमा हिँड्न पैदलयात्रु मार्ग र दृष्य हेर्ने ठाउँ बनाइएको छ भने ५० वटा साकुराका फूल रोपिएका छन् ।
फूल रोपेको जापानी राजदूतावासले अहिले पनि यसमा चासो देखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठाउँ काठमाडौँ उपत्यका र देशकै हेर्न लायक ठाउँ बनिरहेको छ ।”
सो पार्कको अवलोकन गर्न आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य प्रभावित हुनुभएको मन्त्री श्रेष्ठले बताउनुभयो । माथिल्लो भागमा झोलुङ्गे पुल तल सुन्दर पार्क भएकाले धेरैको आकर्षणको केन्द्र बनिरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बालबालिकालाई लक्षित गरेर मोनो रेल निर्माण भइरहेको सो स्थान भविष्यमा विदेशी पर्यटकसमेत आउने छन् । त्यस्तै उहाँले सात गाउँले जात्रा हुने विष्णुदेवी मन्दिर धार्मिक र ऐतिहासिक ठाउँ भएको बताउनुभयो ।

सो ठाउँको विस्तृत अध्ययन गर्न वडाध्यक्ष राउतलाई जिम्मेवारी दिइएको छ । मन्त्री नेम्वाङले एक वर्ष पहिले शुरु गरिएको बल्खु पुलको निर्माण राम्रो ढङ्गले अघि बढेको पाइएको बताउनुभयो ।
चन्द्रागिरी र कीर्तिपुर गरी काठमाडौँका दुई नगरपालिका जोड्ने सो पुल समयमै सम्पन्न गर्न मन्त्रालयकै कार्यन्वयन गर्ने निकाय, स्थानीय तह, निर्माण व्यवसायी सबैलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
आजको स्थलगत भ्रमणले भौतिक पूर्वाधारका क्षेत्रमा छोटो अवधिमा पनि काम हुनसक्छ भनेर देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा र कोभिड नभएको भए पुलमा अहिले गाडी चलिसक्थ्यो ।”





















प्रतिक्रिया